मधेशटप,   भदौ १९ गते ।

जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले महोत्तरीको मरहा खोलाको निरिक्षण गरेका छन् ।

शनिवार पार्टीका नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन महोत्तरीको गौशाला नगरपालिका—२ स्थित निगौल पुगेका मन्त्री साहले खोलाको निरिक्षण गरेका हुन् ।

कार्यक्रममा सहभागी भएको बेला स्थानीय नेता तथा कार्यकर्ताले खोलामा आएको बाढीले उब्जाउ जमिन कटान गरिरहेको विषयमा बताएपछि मन्त्री साह खोला पुगेका थिए ।

खोला पुगेर निरिक्षण गरेपछि मन्त्री साहले मरहा खोलको नियन्त्रण गर्न अतिआवश्यक रहेको बताए । मरहा खोलालाई तटबन्ध गरेर खोला नियन्त्रण गर्न सम्बन्धित निकायमा पहल गर्ने स्थानीयहरुलाई मन्त्री साहले विश्वास दिलाए ।

‘चुरेदेखि भारत सिमा नाकासम्म खोलाको दुईतर्फी तटबन्ध गर्ने सरकारको योजना छ । बर्खायाममा अति जोखिममा रहेको निगौल गाउँ जोगाउन थप बजेटको लागि समेत पहल गर्छु,’ मन्त्री साहले भने ।

दिनहु हुने अविरल बर्षाका कारण खोलामा आएको बाढीले बर्षेनी किसानको सयौं बिग्घा उब्जाउ जग्गा कटान गर्ने गरेको स्थानीयको भनाइ छ ।