उदयपुर । धनमाल लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१३ लाख ७७ हजार ८ सय ९५ रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा एक जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कटारी नगरपालिका ८ वर्मीस्थित जंगलबाट कटारी नगरपालिका ४ बस्ने जमान सिंह बस्नेतको उक्त नगद र मोबाइल लुटपाट गर्ने ओखलढुङगा चिसंम्खु गाउँपालिका बस्ने ५४ वर्षिय रमेश कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

ओखलढुंङगा खाद्यन्न पुर्‍याई कटारीतर्फ जाँदै गरको प्रदेश नम्बर २–०१–००१ च ०३६९ नम्बरको बलेरो गाडीमा व्यापारी हुँ सामान लिन कटारी जाने भन्दै चढी आएका रमेशले सोही जंगलमा शौच गर्नका लागि गाडी रोकेको अवस्थामा गाडीका चालकलाई ढुङगाले प्रहार गरी बेहोस बनाएपश्चात गाडीमा सवार जमान सिंहको उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका थिए ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई कटारी नगरपालिका–४ गबुवास्थित जंगलबाट लुटपाट गरेको रकम सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।