काठमाडौँ । मनसुनी वायुको प्रभावले आज देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बद्ली रही प्रदेश नं १, २ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको सहत बढ्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव सात डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहनेछ ।