जनकपुरधाम । विशेष अदालतले ३ असार २०७२ मा धनुषाका तत्कालिन जिल्ला विकास समितिका सह लेखापाल जीबनाथ चौधरीलाई भ्रष्टाचारी ठहर गरे । भ्रष्टाचार गरेको ठहर गर्दै विगो बमोजिमको रकम रु ६ लाख ७५ हजार असुल गरी ४ महिना कैद सजाय गर्न अदालतले फैसला गरेको थियो ।

चौधरीले उक्त निर्णयबिरुद्व सर्वाेच्च अदालतमा पुनरावेदन गरेका छन् । यो मुद्दा अहिले पनि विचाराधीन नै रहेको छ । तर, यहीं बीचमा प्रदेश २ सरकारको एक मन्त्रालयका सल्लाहकारमा उनी चयन भएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सल्लाहकारमा उनलाई नियुक्त गरिएको छ । मन्त्री रामसरोज यादवले ३० असारदेखि नै उनलाई सल्लाहकारमा नियुक्त गरेको तथ्य बाहिर आएको छ ।

पूर्व राजपालाई हटाएर उपेन्द्र यादवले प्रदेशको सत्तामा कांग्रेसलाई सरकारमा ल्याएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसले पाएको छ । मन्त्री रामसरोज यादव्ले आफ्ना निकटतम मानिएका चौधरीलाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।

अहिलेको मन्त्री रामसरोजले नै जीवनाथलाई जिविसमा जागिर दिएका थिए । रामसरोज जिल्ला विकास समितिका सभिापति भएको बखत जागिर दिएपछि जीवनाथले कांग्रेसका उपसभापति बिमलेन्द्र निधी र रामसरोजका लागि काम गर्दै आएको कांग्रेसीजनको भनाई छ ।

तत्कालिन जिविस धनुषामा भ्रष्टाचार काण्डमा मात्र नभई जीवनाथ अपराधिक काममा पनि संलग्न भएको चर्चा विगतमा भएको छ । १४ माघ २०७४ मा नेपाल तरुण दलका तत्कालिन नगर सभापति प्रकाश मिश्रले जीवनाथले आफूमाथि सांघातिक आक्रमण गरेको बताएका थिए । त्यसबेला उनले पत्रकार सम्मेलनै गरी २ मंसीर २०७४ को राति चौधरीको नेतृत्वमा आफूमाथि हमला भएको बताएका थिए ।

उक्त घट्नालाई जिल्ला अदालतले कुटपिटमा परिणत गरी चौधरीलाई सफाई दिएको बताउँछन् मिश्र । कांग्रेसमा सकृय प्रकाश आफ्नै नेताबाट असुरक्षित भएपछि राजनीति नै छाडेर व्यवसायमा लागेका छन् । भन्छन, ‘म कुनै किसिमको राजनीतिमा छैनौं ।’
अहिलेका मन्त्री रामसरोज जिविस सभापति छँदा जीवनाथलाई जागिर दिएभने जीवनाथका परम मित्र संजय साह ‘टकला’ लाई कबाडीको ठेक्का दिएका थिए ।

दुबै मिलेरै काम गरिरहेको अवस्थामा २०६६ सालपछि दुबैबीच एक्कासी दुश्मनी देखिएको जानकारहरु बताउँछन् । २०६६ सालतिरै जीवनाथको घरमा डकैती हुँदा साहले नै गराएको आरोप लाग्यो । दुबैबीचको दुश्मनीका कारण एकले अर्कालाई सिध्याउने प्रयास गरेको जानकारहरुको भनाई छ ।

१८ वैशाख २०६९ मा रमानन्द चोकमा पाँच जनाको ज्यान जानेगरी भएको बमकाण्ड पनि यही दुई जनाको दुश्मनीका कारण भएको थियो । जीवनाथलाई मार्नकै लागि गराइएको बमकाण्डमा दोषी देखिएपछि संजय साह ‘टकला’ जेल जीवन बिताइरहेका छन् । एक दशकअघिसम्म जनकपुरधाममा भएका अपराधिक घट्ना यी दुई जनाकै दुश्मनीका कारण भएको धेरैको बुझाई छ ।

चौधरी भने कांग्रस उप सभापति बिमलेन्द्र निधीका विश्वास पात्र समेत मानिन्छन् । चौधरीको रमानन्द चोकमै सीता प्यालेश होटेल छ ।
प्रदेश २ सरकार आफैं बिभिन्न समयमा बिभिन्न अनियमिततामा मुछिदैं आएको छ । यो सल्लाहकार नियुक्तिले झन् भ्रष्टाचार बढ्ने जनमानसको बुझाई हुन सक्ने कांग्रेसको विद्यार्थी संगठन नेवि संघका केन्द्रीय सदस्य संजीब यादव बताउँछन् ।

अदालतबाट दोषी देखिइसकेका मान्छेलाई राजनीतिक नियुक्त गर्न नहुने बताउँतै उनी प्रदेश सरकार, मन्त्री, मुख्यमन्त्री सबैले सबै कुरा हेरेर यस्ता निर्णय गर्नुपर्नेमा जोड् दिन्छन् उनी ।

‘यतिकै राजनीतिमा भ्रष्टाचार बढेको आम जनमानसमा छ’ उनी भन्छन्, ‘यो नियुक्तिले प्रदेशको गतिविधी अझ शंकाको घेराभित्र परेको छ । र, नकारात्मकै असर पर्छ ।’

पार्टीको शिर्ष नेतृत्वले यो कुरालाई मध्यनजर गरेर नियुक्त गरेको भए ठीक हुने बताउँदै उनी यद्यपी शिर्ष नेतृत्वसँग सरसल्लाह छ कि छैन त्यो आफूलाई थाहा नभएको बताए ।

यस्तो नियुक्तिले पार्टीलाई पनि समस्यामा पार्न उनको बुझाई छ । ‘पछिल्लो समयमा कांग्रेस मधेशमा माथि उठिराखेको अवस्था छ’ उनी भन्छन्, ‘यस्ता खाले गतिविधीले पुरै प्रदेशमा असर पार्छ जस्तो लागिरहेको छ ।’

नेकपा एमालेका नेता राजकिशोर यादव भ्रष््टाचारको आरोप लागेका व्यक्तिलाई मन्त्रालयको सल्लाहकारमा राख्नु नकारात्मक कुरा भएको बताउँछन् । उनी यस्तो निर्णंय सच्चयाउँदै पार्टीभन्दा माथि उठेर जनताको हकहितका लागि काम गर्नुपर्ने बताउँछन् ।