जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाले कानुन विपरीत अनुगमन भत्ताको जनप्रतिनिधिलाई झण्डै २६ लाख रुपैयाँ वितरण गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७६र०७७ मा यस गाउँपालिकाले अनुगमन गरे बापत पदाधिकारी तथा कर्मचारीलाई २८ लाख ९५ हजार अनुगमन भत्ता भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

सो रकम गाउँपालिका तथा वडा स्तरीय योजना अनुगमन गरे बापत पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका लगायतका पदाधिकारी तथा वडा सदस्यहरुलाई गाउँपालिका कार्यालयले कानुन विपरीत वितरण गरेको हो ।

जवकी प्रदेश २ का स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धि ऐन, २०७५ को दफा १४ मा सो ऐनमा भएको सुविधा बाहेक कुनैपनि सुविधा स्थानीय तहले थप निर्धारण गर्न पाउने छैन भन्ने व्यवस्था भएको र ऐनको दफा ३ तथा अनुसूची १ मा अनुगमन भत्ताको सम्बन्धमा कुनै व्यवस्था गरेको छैन ।

गाउँपालिका कार्यालयले कानुन विपरीत वितरण गरेको अनुगमन भत्ता अशुल गर्न महालेखाले भनेको छ ।