वीरगञ्ज । चोरीको काठ रोक्न खोज्दा प्रहरीमाथि नै जाइलागेपछि काठ तस्करसँग प्रहरीको झडप भएको छ ।सोमबार बिहान ४ बजे तस्कर र प्रहरीबीच झडप भएको हो ।

पटेर्वासुगौली गाउँपालिकाको फरहादवा नजिक पर्ने जंगलबाट सालको गोलिया काठ तस्करी भएको सूचनाको आधारमा प्रहरी गस्तीमा गएको थियो ।

काठसहित चार वटा मोटरसाइकलमा आएका ८ जनालाई रोक्न खोज्न प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ ।

पर्सा प्रहरीका डिएसपी ओमप्रकाश खनालले काठ तस्करलाई रोक्न खोज्दा उल्टै प्रहरीमाथि जाइलागेपछि प्रहरीले हवाई फायर गरेको जानकारी दिए ।

पाँच जनाको संख्यामा रहेको प्रहरी टोलीले हवाई फायर गरेपछि तस्करहरु भागेका छन् । काठ र दुई वटा मोटरसाइकल छाडेर उनीहरु भागेको प्रहरीले बताएको छ ।

सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।