जनकपुरधाम  : जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टीको नौवटा केन्द्रीय संरचना हुनका साथै ४०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा १० जना पदाधिकारी रहने छन् ।

लोसपाले निर्वाचन आयोगमा बुझाएको विधान अनुसार राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, सल्लाहकार समिति, केन्द्रीय विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखापरीक्षण समिति गरी पार्टीको नौवटा केन्द्रीय संरचना रहने छ ।

यस्तै, केन्द्रीय समिति ४०१ सदस्यीय हुनेछ भने १५१ सदस्यीय केन्द्रीय राजनीतिक समिति हुनेछ । २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति हुने व्यवस्था विधानमा गरिएको छ ।

एकल अध्यक्षीय प्रणाली रहेको लोसपामा दुईजना वरिष्ठ नेता छन् । आयोगमा बुझाएको विधानमा भने एक जना वरिष्ठ नेताको व्यवस्था छ । यस्तै, एकजना सहअध्यक्ष, एक–एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष रहने व्यवस्था विधानमा छ ।

निर्वाचन आयोगमा पठाएको विधानमा यी प्रावधान रहे पनि त्यसमा हेरफेर हुन सक्ने सम्भावना रहेको लोसपाका कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनलले बताए । उनले भने, ‘पार्टी दर्ताका लागि हतार हतारमा विधान, नियमावली, घोषणापत्र बनाएर दिएका हौं, एउटा रिभ्यु कमिटी बनाएर सबैमा थपघट गर्नेछौं ।’