बर्दिया । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका-३ गोदानास्थित राजबहादुर शाहीको धानखेतमा थापिएको विद्युतिय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमती रहेको प्रहरीले जनाएको छ ।

गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा तीनैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक कविराज रोकायले जानकारी दिए ।

धानखेतमा विद्युतीय पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँकाले जनाएको छ ।