३ असोज काठमाडौं । असोज ३ गते अर्थात्  संविधान दिवसको अवसर पारेर नेपालको ७७ जिल्लामा साइकलको माध्यमबाट भम्रण गर्न लागेका कालिन्चोक गाउँपालिका वडा नं. ३, दोलखाका अभिनय कार्कीले आफ्नो यात्रा एक साता पछि धकेलिएको बताएका छन् ।

साइकलको माध्यमबाट सय दिनको अवधीमा नेपालभर भ्रमण गर्न लागेका कार्कीले “फ्रस्ट्रेशन,डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौ” समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एकजुट बनौं” भन्ने मुल सन्देश प्रवाह गर्दै साइकल यात्राको सुरुवात गर्न लागेका हुन् ।

पछिल्लो परिप्रेक्ष्यमा युवापुस्ताहरु लागू औषध फ्रस्ट्रेसन, डिप्रेसन र दुव्र्यसन लगायतका कुलतहरुको दलदलमा फसिरहेकोले आफु चिन्तित बन्दै उनिहरुलाई ती त्यस्ता कुलतबाट छुट्कारा मिलोस र समृद्ध देश निर्माणका लागि सक्रिय, जागृत बनेर अगाडि बढ्न प्रेरणा तथा उर्जा मिलोस भनेर समेत यात्राको सुरु गर्न लागेको उनले बताए ।

उनले भोलि अर्थात् असोज ३गते संविधान दिवसको अवसर पारेर आफ्नै जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल कालिन्चोक भगवतीको मन्दिर परिसर बाट आफ्नो साइकल यात्रा सुरुवात गर्ने बताएका थिए ।

यात्राकै तयारीका क्रममा केही दिन अगाडी दोलखा पुगेका कार्कीको स्वास्थ्यमा आएको समस्याको कारण केही समय पछि धकेलिएको बताएका छन् ।