जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अनियमितता भएको  छ ।

क्षिरेश्वरनाथ नगरपालिकाका  नगर प्रमुख योगेन्द्र पंजियारको नेतृत्वमा क्षिरेश्वरनाथ नगरपालिकामा आर्थिक वर्ष २०७६/७७ मा ९ करोड ६४ लाख ९ हजार रुपैँया अनियमितता भएको खुलेको छ।

नगरपालिकाका कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा एकै वर्षमा ९ करोड ६४ लाख बढी अनियमितता भएको छ ।

महालेखा परिक्षक कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन सार्वजनिक भएपछि नगरपालिकामा भएको उक्त अनियमता सार्वजनिक भएको छ  ।

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा धनुषा जिल्ला सभापतिमा दावेदारी गरिरहेका मेयर पंजियारलाई यतिधेरै भ्रष्टाचार गरेको पोल खुलेपछि काँग्रेसका नेता कार्यकर्ताहरु समेत चकित भएका छन् ।

मेयर पंजियार तथा अन्य जनप्रतिनिधी र कर्मचारीहरुको मिलोमतोमा बजेट खर्च गर्दा प्रक्रिया पुरा नगरेको, रकमान्तर विनियोजित भन्दा फरक शीर्षक तथा आसेपासे पाल्ने हिसाबले बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी विना प्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गरेको, नदीजन्य वस्तु कम दररेट राखेर बेचेको, उपभोक्ता समितिहरुले लगेको पेश्की फर्छ्यौटमा बेवास्ता गरेको र विद्यालयमा दिवा खाजामा अनियमित तरिकाले खर्च गरेको छ  ।

महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (१) मा रु. १ करोड सम्म लागत अनुमान भएको निर्माण कार्य मात्र उपभोक्ता समितिबाट गराउन सकिने तथा उक्त लागत अनुमानमा कन्टिजेन्सी र जनसहभागिताको अंश समेत समावेश हुने व्यवस्था छ ।

प्रतिस्पर्धा सिमित हुने गरी एउटै काम टुक्रा टुक्रा गर्न नहुने कानूनी व्यवस्था छ । तर क्षिरेश्वरनाथ नगरपालिकाले सोभित मुखियाको फर्म देखि वेचन मण्डलको घर सम्म रु. १ करोड १९ लाख ४५ हजार ६ सय ८ लागत अनुमानको पिसिसि ढलान उपभोक्ता समितिलाई २ पटक सम्झौता गरी रु.१ करोड १० लाख ८१ हजार ३ सय ९२ भुक्तानी गरेको छ ।

उपभोक्ता समितिलाई सिमा भन्दा बढि रकमको निर्माण गराउने कार्य अनियमित देखिनुका साथै प्रतिस्पर्धा सीमित हुने गरेको कार्य भ्रष्टारा रहेको प्रतिवेदनले जनाएको छ ।

त्यसैगरि क्षिरेश्वरनाथ नगरपालिकाले १ सय १ ह्याण्ड पम्प र ३७ स्यालो टयुवेल जडान गरी रु.९० लाख ३१ हजार ७ सय ८२ भुक्तानी गरेको देखिएको छ । १ थान ह्याण्ड पम्प, स्यालो टयुवेल जडान कार्यको मूल्यांकन गरी जम्मा कामको थानलाई गुणा गरी मूल्याँकन गरेर अनियमितता गरेको खुलेको हो ।

टयुवेल जडान कार्यको मूल्याँकन ठाउँ अनुसार फरक पर्ने भएको र औसतमा लिँदा वास्तविकता समेत नहुने भएकाले काम अनुसार विस्तृत मूल्याँकन नगरी ३७ स्यालो टयुवेल जडान कार्यको रु। २० लाख ९६ हजार ५३ नियमित नदेखिएको उल्लेख छ । उक्त शिर्षकमा मात्र रु.२० लाख ९६ हजार ५३ वेरुजु रहेको छ ।

डिप टयुवेल जडानमा समेत नगरपालिकाले अनियमितता देखिएको छ । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३९९३० बमोजिम बजेट खर्च गर्दा विल भरपाई सहितको लेखा राख्नुपर्ने कानूनी व्यवस्था छ । तर कार्यालयले डिप टयुवे र विजुली लाईनमा रु।१३ लाख ८७ हजार ७ सय ५७ अनियमित तरिकाले खर्च गरेको प्रतिवेदनमा उल्लेखछ ।

नगरपालिकाले पम्पीङ्ग सेट, समर सिवल पम्प खरिदमा समेत अनियमिता गरेको पाईएको हो । सार्वजनिक खरिद एने विपरित कार्यलयले भौचर नम्बर २०४–०७७३३० बाट ८५ प्रतिशत अनुदानमा न्यू शिवम् सप्लायर्स, जनकपुरधामलाई रु.२३ लाख ५१ हजार ८ सय ४० को ८५ प्रतिशत ले हुने रु. १९ लाख ९९ हजार ९ सय ६ भुक्तानी दिएको छ ।

उपभोक्ता समिति वा लाभग्राही समुदायबाट हेभी मेशिन प्रयोग गर्नुपर्ने जटिल प्रकृतिको कार्य गर्न नसकिने र नियम ९७ (१०) मा उपभोक्ता समितिले पाएको काम आफैंले सम्पन्न गर्नुपर्ने र कुनै निर्माण व्यवसायी वा सव कन्ट्रयाक्टरबाट गराउन नसकिने कानूनी व्यवस्था छ ।

यद्यपी, क्षिरेश्वरनाथ नगरपालिका वडा नं.८ मा सिँचाईको लागि ४ डिप टयुवेल निर्माण कार्यका लागि नगरपालिकाको रु.१५ लाख र उपभोक्ता समितिको योगदान रु. २ लाख ६४ हजार ७ सय २५ गरी रु.१७ लाख ७४ हजार ७ सय २५ लागत अनुमान स्वीकृत गरेकोमा उपभोक्ता समितिले एन.के.डि. कन्ट्रक्सन प्रा.लि.बाट काम गराई रु. १७ लाख ७४ हजार ७ सय २५ को कार्य सम्पन्न प्रतिवेदन तयार गरेको महालेखा परिक्षक कार्यालयले जनाएको छ ।

यस नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा समेत अनियमितता गरेको खुलेको हो । सार्वजनिक खरिद नियमावली, २०६४ मा जटील प्रकृतिका बाहेक प्रत्यक्ष लाभग्राही समुहबाट गुणस्तरीय काम हुने र उनीहरुको जनश्रमदानको योगदान हुने निर्माण कार्यमा मात्र उपभोक्ता समिति मार्फत निर्माण कार्य गराउन सकिने उल्लेखछ ।

तर नगरपालिकाले कार्यलय भवन जस्तो जनश्रम गर्न नमिल्ने निर्माण कार्यको लागि उपभोक्ता समिति गठन गरी रु.७७ लाख २९ हजार १ सय २२ निकासा गरेको छ ।

वडा नं.४ कार्यालय भवन निर्माणका लागि उपभोक्ता समितिलाई रु.४९ लाख ९९ हजार ५ सय २०, वडा नं.७ कार्यालय भवन निर्माण उपभोक्ता समितिलाई रु.२३ लाख ३० हजार ३ सय ६९ र वडा कार्यलय भित्र ट्रस निर्माण उपभोक्ता समितिलाई रु.३ लाख ९९ हजार २ सय ३३ निकासा गरेको खुलासा भएको हो ।

सार्वजनिक खरिद नियमावली अनुसार एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सिमाभन्दा बढि रकमको वा एउटै व्यक्ति, र्फम कम्पनी वा संस्थाबाट एक पटक भन्दा बढि सोझै खरिद गर्न नपाउने र त्यसरी खरिद गर्दा कम्तिमा १ वटा आपूर्तिकर्ताबाट लिखित रुपमा दरभाउपत्र माग गरी खरिद गर्नु पर्ने व्यवस्था छ ।

तर नगरपालिकाले सामान खरिद गरी सोझै फर्मलाई भुक्तानी नगरी गंगा यादवलाई पेश्की दिई रु। ३१ लाख ७१ हजार ९ सय ८५ अनियमितता गरेको खुलासा भएको हो ।

नियमावलीको व्यवस्थाको पालना नगरी सोझै रु. ५ लाख भन्दा बढिको सामान एउटै फर्मबाट खरिद गरी भरपाई संलग्न गरी रु।३१ लाख ७१ हजार ९ सय ८५ खर्च गरेको पाईएको छ ।

यादवले महेश खाद्य विज भण्डर, अरिहर ट्रेडर्स, भुदेव एग्रो ट्रेडिङ्ग कन्सर्नबाट खरिद गरी वितरण गरेको सामान सम्बन्तिध लाभग्राही समुदायहरुले सम्बन्धित काममा प्रयोग गरे नगरेको अनुगमन गरी प्रतिवेदन समेत पेश नगरेको उल्लेखछ ।

त्यसैगरि क्षिरेश्वरनाथ नगरपालिकाले कार्यालय भवन डिपिआर तथा पर्यटकिय स्थल पहिचानको नाममा लाखौं रकम झ्वाम् पारेका छन् । नगरपालिकाले मिलोमतोमा डिपिआर र पर्यटकीय स्थल पहिचानको नाममा रु.२९ लाख ९७ हजार ४ सय ५ खर्च गरेको छ ।

नगरपालिकाले कार्यालय भवन डिपिआरको नाममा कोशी इन्जिनियरिङ्ग कन्सलटेन्सीलाई रु.४ लाख ९९ हजार ५ सय, पर्यटकीय स्थल पहिचानको नाममा राज इन्जिनियरिङ्ग कन्सलटेन्सीलाई रु. ४ लाख ९९ हजार ५ सय र चन्द्रिका ग्रुप इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि.लाई नगरपालिकाको वडा नं.७ को हटिय र बृद्धाश्रम डिपिआर तयार गर्ने नाममा रु.१९ लाख ९८ हजार ४ सय ५ भुक्तानी गरेको छ ।

अध्ययन प्रतिवेदन तयार भएका योजनाहरु कार्यान्वयनमा गएको समेत नदेखिएकाले खर्चको सार्थकता समेत नदेखिएको लेखापरिक्षण प्रतिवेदनमा उल्लेखछ । सम्बन्धित फर्महरुले पेश गरेको प्रतिवेदन पनि दाखिला नदेखिएकाले खर्च रकम नियमित नदेखिएको उल्लेखछ ।

क्षिरेश्वरनाथ नगरपालिकाले एक वर्षमा पोल बत्ती जडानको नाममा लाखौं रकम अनियमितता गरेको पाईएको हो । नगरपालिकाले मिलोमतोमा पोल बत्ती जडानको नाममा खर्च गरेको रु।२६ लाख ५५ हजार ५ सय ७९ वेरुजु देखाएपछि अनियमितता भएको खुलेको हो ।

रु.२० लाख भन्दा बढि लागत अनुमान भएको निर्माण कार्य गर्नु पर्दा खुला बोलपत्रको माध्यमद्धारा खरिद गर्नु पर्ने कानूनी व्यवस्था छ । नगरपालिकाको वडा नंं.६, ८ र १० मा पोल बत्ती जडानका लागि राकेश इन्टरप्राईजेजलाई रु. ४ लाख ४७ हजार ४ सय ३८, वडा नं. ४ र ५ मा पोल बत्ती जडानका लागि जय हनुमान जेर्नल सप्लायर्सलाई रु. ४ लाख ९४ हजार ९ सय ४०, वडा नं.१,२र३ मा स्काइ रेन्वो ट्रेडिङ्ग कम्पनी प्रा.लि.लाई रु.४ लाख ९४ हजार ६ सय १, वडा नं.७ मा सुरेश इलेक्ट्रिक सेन्टरलाई रु.१ लाख ९९ हजार ९ सय २१, वडा नं.९ मा यास ट्रेडर्सलाई रु.१ लाख ९९ हजार २ सय ८ तथा बाटो मर्मत कार्यका लागि वैदेही कन्ट्रक्सनलाई रु. ३ लाख ३८ हजार ८ सय ७६ र सन्तोष निर्माण सेवालाई रु.४ लाख ८० हजार ५ सय ९४ भुक्तानी दिएको छ ।जनकपुरप्रेस वाट