जनकपुरधाम, असोज ५ गते ।

सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरेको सबै सीमानाका खुला गरेको छ ।

मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले सबै सिमानाका खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

योसंगै भारतसंगको सबै सीमानाका खुल्ने जनाएको छ । भारतमा कोरोनाको संक्रमण फैलिने दर उच्च बिन्दुमा पुगेपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सकारले सबै सिमानाका बन्द गर्ने निर्णय गरेको थियो ।

अचानक सिमानाका बन्द गर्ने निर्णयले रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली बिचल्लीमा परेका थिए । केही लुकीलुकी त केही विधिपुर्वक आएर क्वारेन्टाइनमा समेत बसेका थिए ।

यस्तै, सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ ।
अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको हो ।

सो आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ । समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् ।

बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्‌मा पेश गर्न स्वीकृति दिएको छ ।