जनकपुरधाम, ९ असोज । प्रदेश २ का अर्थमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता शैलेन्द्रप्रसाद साहले नेपालको राजनीतिमा जसपा नेपाल सशक्त वैकल्पिक शक्तिका रूपमा स्थापित भइरहेको बताएका छन् ।

 

जनकपुरधाम उपमहानगरपालिका–११ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले समुन्नत समाजवादका आधारमा स्वशासन, प्रादेशिक स्वायत्तता र समृद्धिका लागि जसपा नेपालसँग प्रस्ट रेखाचित्र रहेको उल्लेख गरे ।

 

उनले उपेक्षा, बहिष्करण र सीमान्तीकरणमा परेका वर्ग र समुदायलाई अधिकारसम्पन्न तुल्याउने पार्टीको राजनीतिक अभियान अझै तीव्र गतिले अघि बढिरहेको भन्दै पार्टी संगठन थप विस्तार र सुदृढ बनाउनुपर्नेतिर लाग्न नेताकार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

 

नेपालमा भएका परिवर्तनकारी आन्दोलन र जनविद्रोहका नेतृत्व गर्ने पार्टी जसपा नेपाल रहेको उल्लेख गर्दै पार्टीभित्र योग्यता, क्षमता र प्रतिबद्धताका आधारमा मूल्यांकन हुने परिपाटी रहेकाले नवप्रवेशी नेताकार्यकर्ताहरूको समेत पार्टीमा राजनीतिक भविष्य सुनिश्चत रहेको बताए ।

 

उनले भने,‘ कुनै पनि पार्टी सिद्धान्त, नीति तथा कार्यक्रमबाट जनतामाझ लोकप्रिय हुने हो । अहिलेको अवस्थामा जसपाभन्दा बढी उन्नत, परिस्कृत तथा जनहितकारी सिद्धान्त र कार्यदिशा कुनै पार्टीले अवलम्बन गरेको छैन । त्यसैले यो पार्टीको जनस्वीकार्यता बढी छ ।’

 

उनले राज्यबाट उपेक्षित जनतालाई देशको मूलाधारमा ल्याउने चुनौती रहेको थप्दै जसपा नेतृत्वको प्रदेश २ सरकारले सामाजिक रूपान्तरणका माध्यमले सीमान्तकृत जनतालाई मूलप्रवाहमा ल्याउन प्रयत्न गरिरहेको पनि प्रस्ट्याए । विभेद र उत्पीडनमा परेका समुदायलाई आरक्षणका माध्यमले मूलाधारमा ल्याउने कार्ययोजना प्रदेश २ मा कार्यान्वयन भइरहेको पनि मन्त्री साहले उल्लेख गरे ।

 

मन्त्री साहले जसपाको नेतृत्वमा नै मुलुकमा दिगो शान्ति, राजनीतिक स्थायीत्व समृद्धि कायम हुने दाबी गरे ।

 

कार्यक्रममा जसपा जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ११ का संयोजक एवम् जसपा धनुषाका सदस्य मुद्दिन कबाडीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर आएका करिब सयजना स्थानीय नेताकार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

 

नवप्रवेशी नेताकार्यकर्तालाई अर्थमन्त्री साह र जसपा नेता एवम् प्रदेशसभा सदस्य रामअशीष यादवले स्वागत गरेका थिए ।

 

कार्यक्रममा जसपा धनुषाका अध्यक्ष पशुपति यादव, ममता पाठक, वडा नम्बर १८ का वडाध्यक्ष रामशंकर पासवान, मो.सदाम हुसेन, नगर अध्यक्ष विष्णुदेव साहलगायतको उपस्थिति थियो ।