जनकपुरधाम, १० असोज । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रदेश कमिटीको समायोजन घोषणा गर्ने भएका छन् ।
पूर्व राजपाबाट आएकाहरुलाई प्रदेश कमिटीमा समायोजन गर्ने सम्पूर्ण तयारी भइसकेको प्रदेश कमिटीका अध्यक्ष विजय कुमार यादवले बताए ।
‘वर्तमान प्रदेश कमिटीको अन्तिम बैठक शनिवार सम्पन्न भएको छ ’अध्यक्ष यादवले भने, समायोजनपछि नयाँ कमिटीको बैठक हुनेछ । समायोजनको घोषणा राष्ट्रिय अध्यक्ष यादवले गर्नेछन् ।
जसपाको संशोधित बिधान अनुसार प्रदेश कमिटीमा अब १सय ५० जना रहनेछन् ।११ जना पदाधिकारीको संख्यालाई बढाएर १५ जनाको संख्या पु¥याइएको छ ।
समायोजन भनिएपनि पूर्व राजपाको प्रदेश कमिटी नरहेकाले नेताहरुले गर्ने सिफारिस अनुसारका व्यक्तिहरुलाई समावेश गरिनेछ । जसपाका अध्यक्ष उपेन्द्र यादव ४ दिनसम्म जनकपुरधाममा रहनेछन् ।
उनले जलेश्वरमा जितिया महोत्सवमा समेत सहभागि हुनेछन् । जसपाको आइतवार हुने कार्यक्रमकै समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेताको चयन हुनेछ ।
जसपा नेतृत्वको प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र समावेश भइसकेका छन् ।नेकपा एकिकृत (समाजवादी)पनि चाँडै सरकारमा सहभागि हुने भएको छ । सरकार बाहिर रहेको नेकपा एमालेको ८ जना मात्र सभासद रहेकाले १६जना सभासद रहेको लोसपा प्रमुख प्रतिपक्षी दल रहनेछ ।
स्वागतमा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पुर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहा, साथै नेता कार्यकर्ताहरुको उपस्थित थियो।
Discussion about this post