जनकपुरधाम, असोज १३ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताएका छन् । यसबारे आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानी समेत गरेको मुख्यमन्त्री  राउतले बताए ।

बुधबार बेटी पढाऊ, बेटी बचाऊ, अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सार्वजनिक भएको थियो । त्यसको केहीघण्टामा नै अख्तियारको केन्द्रीय कार्यालय र बर्दिबासस्थित कार्यालयको टोलीले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्री परिसदको  कार्यालयमा पुगेर छापा मारेको थियो ।

अनियमितताको समाचार भ्रमक भएको दाबी गर्दै मुख्यमन्त्री राउतले भने, ‘त्यसको २–४ घण्टा वित्न नपाउँदै अख्तियारको टोली छापामारको शैलीमा आउँछ, मानौं कि प्रमाणहरु लोप भइरहेको छ, कसैले नाश गर्न लागेको छ । त्यो शैलीमा आएर छापा मार्छ र तरुन्तै मिडियामा आउँछ ।’

यसबारे आफूले अख्तियार प्रमुख राईसँग टेलिफोनमा कुराकानी गरेको उनले सुनाए । अख्तियारको शैलीप्रति आफूले आपत्ति जनाएको र राईले पनि कमजोरी स्वीकार गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री राउतले भने, ‘यो प्रदेश सरकार र मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र हो ।’

प्रदेश सरकार आफैंले जनलोकपाल आयोग गठन गरेको भन्दै मुख्यमन्त्री राउतले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको आरोप लगाए ।