जनकपुरधाम : प्रदेश २ का धनुषा र महोत्तरी  जिल्लामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले आज साँझ मशाल जुलुस निकालेका छन् । मशाल जुलुसमा सहभागीहरुले अख्तियार प्रमुख प्रेमकुमार राइको राजीनामा समेत मागेका हुन् ।

बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा  अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेका थियो । छापामार शैलीमा अख्तियारले छापा मारेको भन्दै त्यसको विरुद्धमा सत्तारुढ जसपा मधेस प्रदेश समितिले आह्वान गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज साँझ मशाल जुलुस निकालिएको छ ।

दिउँसो साढे ४ बजे नै प्रदेश २ का आठै जिल्लामा मशाल जुलुस निकाल्ने कार्यक्रम थियो । तर वर्षाका कारण करिब जनकपुरमा साढे ६ बजे मशाल जुलुस निकालियो । मशाल जुलुसमा सहभागीहरुले ओलीका गुण्डा अख्तियार प्रमुख मुर्दाबाद, मधेस विरोधी अख्तियार मुर्दावाद जस्ता नारा लगाए ।

अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा छापा मारेपछि प्रमुख सत्तारुढ जसपाका नेताहरु आक्रोशित बनेका छन् । तर प्रदेश २ सरकारमै सहभागी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र भने मौन देखिएको छ ।