जनकपुरधाम। प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारलाई बद्नाम गर्ने नियतले अख्तियर प्रस्तुत भएको बताएका छन् ।

सप्तरीको बिरेन्द्र बजारमा शनिबार किसान बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

कार्यक्रममा बोल्दै मन्त्री साहले अख्तियारले आफ्नो कार्यक्षेत्र बिर्सेर सरकारको कार्यकारी प्रमुख कार्यालय पस्नु अनैतिक, असंवैधानिक पूर्वग्राही र द्वेषपूर्ण रहेको बताए ।

अख्तियरसँग संबैधानिक अधिकार छ, मन्त्री साहले भने– तर त्यसको प्रयोग गर्ने शैली र अभ्यास आज गलत भएको छ ।

प्रमाण नष्ट हुने अबस्थामा अख्तियरले कुनै दस्तावेज नियन्त्रणमा लिने हो, मन्त्री साहले भने, अख्तियरको यस्तो ब्यबहारले तीन तहमा रहेको संघीय स्वरुप र ईकाईहरुका रुपमा संवैधानिक संस्था मध्येका एक सरकारप्रतिको यो अनाहक अबिश्वासको प्रकटीकरण संघीय बिरोधी मानसिकतालाई प्रतिबिम्बित गर्छ ।

 

मन्त्री साहले संघीयता समाप्त पार्ने षड्यन्त्र भईरहेकोले सम्पूर्ण पहिचान र संघीयता पक्षधरलाई सजग हुन आग्रह गरे । संघीयता समाप्त पार्ने प्रयास हुँदैछ, सजग हुनुस् मन्त्री साहले भने अख्तियारको दुष्प्रयास राज्यलाई फेरि एकात्मक र केन्द्रिकृत बनाउने प्रतिगमनकारी केपी शर्मा ओलीको अभिव्यक्ति र ब्यबहारको निरन्तरता हो ।

मन्त्री साहले सरकारको लोकप्रियतालाई देखेर संघीयता बिरोधी शक्तिहरु आत्तिएको बताए । मन्त्री साहले प्रदेशको बिकास र समृद्धिको आधार सहकारी संस्था रहेको भन्दै प्रदेश सरकार सहकारी संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले सहकारीका शेयर सदस्य तथा संचालक समितिको लगनशीलता ईमान्दारिताले छोटो समयमै असाधारण प्रगति गरेको भन्दै किसान बचत तथा ऋृण सहकारी संस्थाको प्रशंसा गरे ।

उनले गाउँपालिकाको साधनस्रोतले भ्याउनेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष बेचनी देवी सरदारले सहकारी संस्थाहरुको बिकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताईन् ।

 

किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आनन्द प्रसाद महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान सप्तरीका संयोजक दिल कुमारी चौधरी, भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सहकारी बिभाग प्रमुख ओम नारायण झा, जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष तोयानाथ पोखरेल, वरिष्ठ उपाध्यक्ष भगवानी प्रसाद चौधरी, पत्रकार बृजमान तामाङ, हाम्रो कृषि सहकारी संस्था बिरेन्द्र बजारका अध्यक्ष शैलेन्द्र प्रसाद यादव, संस्थाका उपाध्यक्ष बम बहादुर राउतलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

 

संस्थाका ब्यबस्थापक चेत नारायण मेहताद्वारा संचालित कार्यक्रममा स्वागत सह–ब्यबस्थापक संगिता कुमारी चौधरीले गरिन् । कार्यक्रममा अध्यक्ष मेहताले बार्षिक प्रगति प्रतिवेदन तथा सह–ब्यबस्थापकले चौधरीले आर्थिक बर्ष २०७७÷०७८को कूल ४ करोड ६६ लाख १८ हजार ५ सय बराबरको आयब्यया प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा मन्त्री साहले उत्कृष्ट ६ जनालाई प्रमाणपत्र दोसल्ला ओढाएर सम्मान गरे । सम्मानित हुनेहरुमा शेयरतर्फ सुन्दरकला चौधरी, दैनिक बचततर्फ मो.यासिन मियाँ, मासिक किस्ता बुझाउनेमा जुना थापा मगर, मुद्दति खातामा दिपिका कुमारी सिंह, जेष्ठ नागारिक बचत खातामा विशेश्वर चौधरी र कर्मचारीतर्फ संगिता चौधरीलाई सम्मान गरिएको थियो ।