जनकपुरधाम : धनुषामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–५ का २६ बर्षिय ओमप्रकास साह रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

आइतबार बेलुका पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ग.८ख ३३५१ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको ज.५प ९२३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका मोटरसाइकल चालक साहलाई उपचारका लागि लालगढस्थित मोडेल हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक सुवेदीले बताए ।

उनका अनुसार ठक्करदिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको हो।