जनकपुरधाम,असोज १८ गते  : जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सुरक्षाकर्मीले रोक्न खोज्दा उनीहरुले न्यायिक समिति कक्षमा तोडफोड समेत गरेका छन् ।

जनकपुरको विभिन्न सडक हिलाम्मे बनेको र मर्मत गराउन चासो नदेखाएपछि जनमत पार्टी आन्दोलित बनेको छ । जनकपुरधाम ८ मा रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बाटोका कारण घरबाट निस्किन नपाएको फेसबुकमा स्टाटस  लेखेपछि उनका कार्यकर्ता आन्दोलनमा उत्रेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा पुगेर राउतका कार्यकर्ताले ‘भ्रष्ट मेयर लालकिशोर साह मुर्दाबाद’ जस्ता नारा समेत लगाए । उनीहरुले माग पुरा नगरी ताला फोडेमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उपमहानगरभित्रको हिलाम्मे सडकहरु अबिलम्ब मर्मत गराउनुपर्ने उनीहरुको मुख्य माग गरेको छ ।

यसअघि राउत कार्यकर्ताहरुले जनकपुरधाम ८ मा रहेको खानेपानी विभागमा समेत तालाबन्दी गरेका थिए । विभागले ढल निर्माणका लागि सडक खनेर छाडिदिँदा सडक हिलाम्मे बनेर अवरुद्ध बनेको बताइएको हो  ।