विराटनगर, २१ असोज । औषधी ब्यबस्था विभाग विराटनरगले पछिल्लो दुई महिनामा १५ वटा फार्मेसी शिलबन्दी गरेको छ भने ६ पसल विरुद्ध मुद्धा दर्ता गरेको छ । कार्यालयले जिल्ला अदालत सुनसरी र मोरङमा मुद्दा दर्ता गराएको जनाएको छ ।

औषधी ऐन २०३५ बमोजिम बिना दर्ताको औषधी सञ्चीत गरेको र औषधी बेच्न राख्नु पर्ने फर्मासिष्ट अनुपस्थित रहेको पाइएपछि १५ औषधी पसललाई निलम्बन गरेको छ ।

त्यस्तै प्रतिबन्धित औषधीसँगै नियन्त्रीत औषधी बेचबिखन र ओसारपोसार गरेको भन्दै सुनसरी र मोरङका ६ वटा पसलमाथी मुद्दा चलाएको फार्मेसी निरिक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार सुनसरी जिल्ला अदालतमा बिना इजाजत औषधीको अनुचित प्रयोग तथा बेचबिखन गरेको पाइएपछि कुमार तमाङ, चन्द्र कुमार तमाङ, सनम जहतराम र राजेश लिम्बु , प्रभु साह, विपिन भनिने सचिन कार्की, नविन चौधरी, सन्तोष लिम्बु, सविन तमाङ, बिलु रिसिदेव माथी मुद्दा दायर गरेकोे हो ।

त्यस्तै मोरङ जिल्ला अदालतमा बिना इजाजत औषधीको ओसारपोसार र बेचबिखन गरेको भन्दै विभागले विक्रान्त अधिकारी, विदुर राई र पर्वत कार्की माथी मुद्दा दायर गरेको निरिक्षक खड्काले जानकारी दिए ।

सोही अवधिमा विराटनगर ४ स्थित नोबेल मडिकल कलेज अगाडी सञ्चालनमा रहेको औषधी पसलहरु बुढासुब्बा फार्मेसी, आरएन फर्मा, ग्राम फार्मेसी , अविष्कार फार्मेसी, होमा मेडिकल, साथी फर्मा, आस्था फार्मेसी, क्यारसो फार्मोसीलाई निलम्बन गरेको छ ।

औषधी ऐन २०३५ बमोजिम विभागले मोरङको मिक्लाजुङको प्राची फार्मेसी, पथरीको सविक मेडिकल, सुनसरी इनरुवाको अविना मेडिकल, इटहरीस्थित एलीना फार्मेसी, सप्तरीको एसएम एस फर्मा, भागवत मेडिकल एण्ड वर्षा किल्नीक, विराटनगर १५ को जफा फार्मेसी, सुनसरी बराहक्षेत्रका कामनचा फार्मेसीलाई निलम्बन गरेको हो ।

यस अघि बराहक्षेत्र क्षेत्रमा गरिएको अनुगमनका क्रममा कैफियत देखिएका औषधि पसललाई शिलबन्दी गरिएको विभागले जनाएको छ । विभागका निमित्त प्रमुख सञ्जिव शर्मा कट्टेलको नेतृत्वमा गएको टोलीले बराहक्षेत्रका औषधि पसलमा अनुगमन गरेको थियो ।

बिना दर्ताका औषधी पसलहरुमा बराहक्षेत्र–३ मा अवस्थित सबिना राईद्वारा सञ्चालित बिना बोर्ड र बिना दर्ताको औषधि पसल, उत्तिमलाल साहूद्वारा सञ्चालित मनकामना स्वास्थ उपचार क्लिनिक, उनदिप चौधरिद्वारा बिना दर्ता र बिना नाम सञ्चालित औषधि पसल, बराहक्षेत्र–५ स्थित शम्भु मेडिकल हल छन् ।

शम्भु मेडिकल हलका सञ्चालक सरिता ठाकुर रहेको र उनले मृत्यु भएका बुबाको नाममा रहेको ओरियन्टेसनको प्रयोग गरि सञ्चालन गरेको पाइएको छ ।

त्यस्तै लाइसेन्स भाडामा लिएर फार्मासिस्टको अनुपस्थितमा फार्मेसी सञ्चालन गरिरहेका दुई औषधि पसललाई समेत औषधी व्यबस्था विभागले शिलबन्दी गरेको जनाएको छ । इटहरी–१७ मा रहेको एलिना फार्मेसीमा राज कट्टेलको लाइसेन्स प्रयोग भएको तर कट्टेल औषधि उद्योगमा समेत काम गर्ने गरेको खुलेको छ ।

त्यस्तै बराहक्षेत्र–५ मा प्रमोदकुमार साह तेली सञ्चालक रहेको कामना फार्मेसी फार्मासिस्ट अरविन्दकुमार अग्रहरीको लाइसेन्स प्रयोग भएको तर उनी उक्त फार्मेसीमा काम नगरी अन्यत्र काम गर्ने गरेको, उक्त पसलमा बिना दर्ताका यौनबर्धक औषधि समेत भेटिएको कारण सिल गरिएको थियो । अनुगमनका क्रममा मदिरा भट्टी र फार्मेसी एउटै सटरमा सञ्चालन गरेको भेटिएको थियो ।