काठमाडौँ, असोज २३।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । शुक्रबार अबेर साँझ सपथ लिए लगत्तै कार्यभार सम्हाल्नु अघि मन्त्री यादवले पहिला पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

 

नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित पेरिसडाँडा पुग्नुभएका मन्त्री भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

 

पेरिसडाँडामा संक्षिप्त प्रतिक्रिया दिँदै यादवले भट्टराईले मुलुकलाई परिवर्तनको दिशामा अगाडी बढाएर अहिलेको स्थानसम्म पुर्याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको ठुलो योगदान रहेको बताउनुभयो । सोही कारण आफू श्रद्धाञ्जली अर्पण गर्न आइपुगेको उहाँको भनाई थियो । आफू सहिद परिवार समेत भएको, सहिदको पीडा र मर्म राम्ररी बुझेकोले देश र जनताका निम्ति बलिदानी दिनुभएका सहिदहरुप्रति विशेष झुकाव रहेको बताउनुभयो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा शुक्रबार मन्त्रीपरिषद विस्तारको क्रममा यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी सुम्पिएको हो ।

 

जनयुद्धको सुरुवातदेखि नै जनयुद्धमा सपरिवार होमिनु भएको यादवको बुवा रामवृक्ष यादवको जनयुद्ध सुरु हुनु पुर्व नै २०५१ भदौ २ मा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने यादवको परिवारबाट उहाँको भाइ, उहाँको काका, उहाँको बहिनी ज्वाईंको समेत हत्या गरिएको थियो । त्यस्तै वहाँको आमा तत्कालीन संविधानसभा सदस्य रामकुमारी यादवको ग्याँस दुर्घटनामा परि निधन भएको थियो ।