जनकपुरधाम : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागुऔषध मुद्दामा यतिबेला जेलमा छन्।

यही अक्टोबर ३ तारिख आर्यनलाई भारतको लागुऔषध अनुसन्धानकर्ता निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले मुम्बईमा एक पानीजहाजभित्र ‘ड्रग्स पार्टी’ गरिरहेका बेला पक्राउ गरेको थियो। उनका साथमा अन्य ७ जना पनि गिरफ्तार भएका थिए। अहिलेसम्म त यस प्रकरणमा २० जनाभन्दा बढी पक्राउ परिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आर्यन गिरफतार भए यता अभिनेता शाहरुखको दम्पतीको दिनमा भोक र रातमा निद्रा हराएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुख र उनकी पत्नी गौरी यतिबेला निकै चिन्तामा छन्। सुरुमा आफ्ना वकिलले शाहरुख दम्पतीलाई आर्यन चाँडै रिहा हुने आश्वासन दिएका थिए। तर मुद्दा झनझन् गहिरिँदै गएपछि शाहरुख दम्पतीको चैन हराएको हो।

आर्यनको स्वास्थ्य अवस्था बुझ्न यो दम्पतीले दिनमै कैयौंपटक फोन गर्ने गरेका छन्। शाहरुख र गौरीले घरबाटै खाना तथा निजी सामान जेलमा लगिदिने गरेका छन्। आर्यनको गिरफ्तारी शाहरुखको पेसागत जीवनमा पनि असर पारेको छ। एजेन्सी