जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा महावीर युवा कमिटीले दशकौंदेखि दशैं धुमधामका साथ मनाउँदै आएको छ। मन्दिरमा कमिटीले दशैंलाई लक्षित गरी विभिन्न कार्यक्रमको आयोजना गरेर दशैं भव्यताका साथ मनाउँदै आएको हो।

मन्दिरमा अष्टमीको राति बोकाबली चढाउने चलन छ । हजारौँ श्रद्धालु भक्तजनहरु टाँढाटाँढाको गाँउ, सहर र भारतबाट मन्दिरमा बोका चढाउन आउने गर्छन्। तर कमिटीले बोकाबलीमा खट्ने सदस्यहरुलाई मन्दिरै परिसर भित्र मदिरा सेवन गराउँदै आएको कुरा बाहिरिएको छ। यसपटकको अष्टमीमा पनि मन्दिर भित्रै मदिरा सेवन गरेका थिए कमिटीका सदस्यहरुले ।

राजदेवी मन्दिरमा बोकाबली हुँदै गर्दा मन्दिरभित्र कार्टुनमा प्याक गरी मदिरा सप्लाइ हुँदै थियो । मन्दिरकै सदस्यजनहरु सप्लाइ गर्दै थिए मदिरा। तर ती सदस्यमध्ये एकजनाको हातबाट कार्टुन चिप्लिएर भुइँमा खसेको थियो र मदिराका बोतलहरु फुटेको थियो । तर भिड्ले देखे पनि कुरा खासै बाहिरिएन ।

यसपटक मन्दिरभित्र मदिराको ठूलो संख्यामा खपत भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भित्र त मदिरा सेवन हुन्छ नै तर अधिकांशले बाहिरै गएर मदिरा सेवन गर्ने र पुनः मन्दिर भित्र आएर बोका काट्ने र काटेको बोकालाई सम्बन्धित मान्छेसम्म पुर्याउने काम गर्ने गर्छन।

पहिलयैदेखि कमिटीले सदस्यहरुलाई मदिरा सेवन गराएरै बोकाबली दिने लत लगाएको त्यहाँका एक सदस्यले बताए।

उनले भने, ‘मन्दिर भित्र निषेधित पदार्थको सेवन गरी प्रवेश गर्नु नै अशुभ मानिन्छ तर मन्दिर भित्रै यस्तो कार्य हुनु भनेको हिन्दु धर्मावलम्बीहरुको आस्थासँग खेल्नुको साथसाथै भक्तजनहरुको विश्वास माथिको भद्दा मजाक हो ।’

हिन्दु धर्मावलम्बीहरुको धार्मिक स्थल र प्रसिद्ध शक्तिपिठ भित्र यस्तो हर्कत हुनु निन्दनीय र घृणित कार्य मानिन्छ।