जनकपुरधाम : मिथिलाका प्रसिद्ध गीतकार अशोक दत्तद्वारा लिखित बहुप्रतिक्षित ‘जय सियाराम’ गीत एल्बमको विमोचन कात्तिक २ गते हुने भएको छ ।

उद्योग पर्यटन तथा वन मन्त्रालय प्रदेश २ को पर्यटन प्रवर्द्धनात्मक प्रचारप्रसार कार्यक्रम अन्तर्गतको सहयोगमा उक्त गीति एल्बम तयार पारिएको हो ।

नवरस मिडिया प्रालिको प्रस्तुती तथा लोकसमाज जनकपुर र पिएमपीको सहकार्यमा निर्मित यस गीति एल्बमको जनकपुरधामस्थित गिरिजा चलचित्र मन्दिरमा विमोचन हुने जनाइएको छ ।

यो गीत मैथिलीको अहिलेसम्मको इतिहासमा सबैभन्दा  लामो अवधिको गीत भएको संगीतकार सुनिल मल्लिकले जानकारी दिए । उनले यो गीत २२ मिनेटको रहेको र यसको भिडियोमा १०० जना कलाकारले अभिनय समेत गरेको जनाए ।

गीतकार अशोक दत्तद्वारा लिखित यस गीतमा संगीत सुनिल प्रवेशको रहेको छ । सुनिल मल्लिक, पार्थ मल्लिक, नेहा प्रियदर्शनी, रामनारायण ठाकुरलगायतका गायक गायिकाहरूले गीतमा स्वर दिएका छन् ।

विमोचन हुन लागेको यस एल्बमको निर्देशन निशान्त मल्लिक र निहारिक मल्लिकले गरेका छन् ।