गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ स्थित माझगाउँमा गए राति मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रकका चालक धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए । गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनिट्रक माझगाउँमा अनियन्त्रित भएर सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ ।

दुर्घटनामा परी अरू दुईजना घाइते भएको उनले जानकारी दिए । घाइते हुनेमा आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय राजकुमार गुरुङ र तीन वर्षीया बालिका दिव्या गुरुङ रहेका छन् । उनीहरूको आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घाइते दिव्याको अवस्था गम्भीर भएकाले थप उपचारका लािग अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्यचौकीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस