काठमाडौँ : नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज (शुक्रबार) इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्ने छ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुने छ ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्ने छ ।

यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ । छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलिसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने छन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुने छन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

नेपालको टिममा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिब गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा र सुरज ज्यु ठकुरी रहेका छन् । यस्तै, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ र एरिक विष्ट छन् ।