कात्तिक ५ बनेपा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् ।

नाति नातिनीसहित पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै आएका प्रचण्डले आफूले जिपलाइनको निकै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौका भुपेश श्रेष्ठले वल्ड वाइड एड्भेन्चर प्रालि मार्फत् धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन् । जिपलाइनको टेक अफ थाक्लेडाँडा, धुलिखेल०देखि ल्यान्डिङ स्टेसन खावा, पाँचखाल सम्मको जिपलाइन दूरी एक हजार १०० सय मिटर रहेको छ ।

भर्टिकल ड्रप २४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ । काठमाडौंबाट करिब ३५ किलोमिटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रूपमा सुरु भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेशन छ ।