मधेशटप, कार्तिक ७ गते।

जनकपुरधाम  । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका प्रमुख राजेश कुशवाहालाई जनकारबाहीपछि अब मेयर मुख्यमन्त्रीको पालो थ्रेट दिएपछि दुवै कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

प्रमुख कुशवाहालाई जनकारबाहीको भोली पल्ट समाजिक सञ्जाल फेसबूक मार्फत जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालयले यो भ्रष्टाचारीहरु विरुद्ध जनकारवाहीको संकेत मात्र थियो जनतामा डिमाण्ड धेरै डिमाण्ड मेयर सुध्रेन, मेयर मात्रै होइन सांसद र मन्त्रीलाई समेत जनकारवाही हुने चेतावनीपछि त्यसको भोलीदेखि सुरक्षा व्यवस्था कडा पारिएको हो । डा. सिके राउतको थ्रेटपछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मेयर लालकिशोर साहको निवास र मुख्यमन्त्री कार्यालय अगाडि सहित नगरका विभिन्न चौकहरुमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे हाे ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय र मेयर लालकिशोर साहको निवासका साथै मुख्यमन्त्री कार्यालय अगाडि दर्जनौ संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी संयुक्त टोली परिचालन गरिएको छ ।

 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जनमत पार्टीको थ्रेटकै कारण भन्दा पनि पछिल्लो पटक खानेपानीका प्रमुखमाथि भएको जनकारबाहीको घटनाले सर्तकताका लागि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आशंकित कार्यालय तथा पदाधिकारीहरुलाई सुरक्षा दिइएको हो ।

 

यता सुरक्षाको प्रत्याभूतिको मांग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले शुक्रवार कामकाज ठप्प राखे भने आज दिउंसो १ बजेसम्म विरोध स्वरुप पेनडाउन गरी कामकाज रोक्का गरेका छन ।

 

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समिति जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष शरद लाभले पछिल्लो पटक जनमत पार्टीका कार्यकर्ताद्वारा खानेपानीका प्रमुखमाथि गरिएको जनकारबाही र उपमहानगरपालिकामा समेत तोडफोड गरिएको कारण शुक्रवार एक दिने कामकाज रोक्का गरिएको र आज दिउंसो एक बजेसम्म पेनडाउन गरिएको बताए ।