मधेशटप डेस्क,

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सरकारद्वारा सञ्चालित वायुसेवा निगमलाई धन्दाको अखडा नबनाउने बाचा गरेका छन् ।

मंगलबार नेपाल पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाल एयरलाइन्सलाई सुकाउने धन्दा आफूले नगर्ने बाचा गर्दै एयरलाइन्सलाई उकासेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भने, ‘नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर, सेटिङ मिलाएर निजी एयरलाइन्सलाई चाहीँ रातारात करोडपति बनाउने ।

नेपाल एयरलाइन्सको ग्राउण्ड ल्याण्डिङलाई निजी स्वार्थका लागि अर्काे कुनै कम्पनीलाई दिने त्यो धन्दा प्रेम आलेले गर्दैन । म त्यो पक्षमा छैन । म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री आलेले आईकाओको कालो सूची ‘लिस्ट’मा रहेको एयरलाइन्स त्यसबाट हटेन भने पर्यटन भित्राउन नसकिने चिन्ता पनि व्यक्त गरे । र, उक्त कालो सूचीबाट हटाइनुपर्ने पनि उनको भनाइ छ ।

 

उनले भने, ‘आज हामीसँग दुईटा न्यारो बडी र दुईटा वाइडबडी । हामी आईकाओको ब्ल्याक लिस्टमा छौँ । त्यो ब्ल्याक लिस्ट हटेन भने पर्यटक कसरी ल्याउने ? एयरपोर्ट आएपछि पर्यटक छिछि भन्दै नाक थुन्न बाध्य हुन्छ । अब यी सबै कुरा सुधार गर्नुपर्ने आजको आवश्यकता हो ।’

मन्त्री आले मन्त्री बन्नुअघि निगममा कर्मचारीले तालाबन्दी गरेका थिए । कर्मचरीहरुले निगमलाई कम्पनीमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमको कार्यालयमा ताला लगाएका थिए । तर, पछि मन्त्री आलेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कर्मचारीहरुलाई निगम निजीकरण नगर्ने भन्दै सहमतिमा ल्याएका थिए ।

प्रेम आलेले आन्दोलनकर्मी कर्मचारीहरुको माग अनुसार निगममा नयाँ अध्यक्ष पनि नियुक्त गरेको बताए । क्याबिनेटले सोमबार युवराज अधिकारीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको छ ।मन्त्री आलेले थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।