मन्त्रिपरिषद विवादमा भागबण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाव परेको छ ।

१४ न्यायाधीशले फुलकोर्ट बहिष्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् ।

पूर्वन्यायाधीश समाजले यसअघि शुक्रबार नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेर विज्ञप्ति जारी गरेको थियो भने केही वरिष्ठ कानून व्यवसायीले पनि अनौपचारिक रुपमा राजीनामा मागेका छन् ।

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेका प्रधानन्यायाधीश जबरा सोमबारसम्म न्याय क्षेत्रमा करीब एक्लिएका छन् । पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानून व्यवसायी र आफ्नै सहकर्मीको पनि उनले साथ पाएनन् ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले न्यायालयमा देखिएका समस्याको सिर्जना प्रधानन्यायाधीशले नै गरेको भन्दै समाधानका लागि उनले नै जवाफदेहिता देखाउनुपर्ने बताए ।

उनीहरुले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘न्यायपालिकाको समक्ष उपस्थित चुनौतीहरुको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थ भन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्दछौं ।’