काठमाडौं । प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका जिल्लामा प्रहरी आचरणबिपरीत अनियमिततामा संलग्न घुमुवाहरुलाई प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ ।

प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखाले प्रदेशका प्रमुख र जिल्लाका प्रमुखले अतिरिक्त आम्दानीका लागि परिचालन गरेका विभिन्न दर्जाका १४ घुमुवालाई प्रहरी प्रधान कार्यालयमा ४ दिनभित्र उपस्थित हुनका लागि २०७८ कात्तिक ३ मा पत्र काटेको थियो ।

प्रदेश २ मा अनुगमन तथा निरीक्षणमा एसएसपी भीम ढकाल गएका थिए ।

ढकालले लामो समयदेखि घुमुवाका रुपमा कार्यरत धनुषा र पर्साका ६ प्रहरीको बारेमा आचरण बिपरीत क्रियाकलाप गरेको सिफारिस गरेपछि उनीहरुलाई हेडक्वाटरमा झिकाउन प्रशासन महाशाखाले पत्र काटेको थियो ।

उक्त पत्रमा महाशाखाले प्रहरीको नामै गलत लेखेको पाइएको छ ।

चुस्ता २ जोर, आवश्यक पोशाक, दैनिक नित्यकर्मका लागि आवश्यक सामानसहित कात्तिक ७ मा उपस्थित गराइदिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएको थियो ।

ती १४ घुमुवामा पर्साका प्रहरी हवल्दार जालन्धर यादव पनि थिए । तर प्रहरीको प्रशासन महाशाखाले प्रहरी हवल्दार जलेश्वर यादव लाई उपस्थित गराइदिन भनी लेख्यो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले जलेश्वर यादव नामको हवल्दार कार्यरत नभएको जवाफ लेखेर प्रशासन महाशाखामा पठाइदिए ।प्रशासन महाशाखाले जालन्धर यादव नाम समेत त्रुटिपूर्ण लेखेपछि एसपी पाण्डेले उक्त जवाफ लेख्ने मौका पाएका हुन् ।

प्रहरी प्रशासन महाशाखालाई आफ्नै प्रहरीको नाम समेत थाहा नहुनु बिडम्बनापूर्ण नै मानिएको छ । जिल्लाका प्रहरी प्रमुख पाण्डेले अतिरिक्त आम्दानीका लागि राखेका हवल्दार जागेश्वर यादवलाई जोगाउनका लागि प्रहरीको प्रशासन महाशाखालाई त्यस्तो नाम नभएको जवाफ पठाइदिएका छन् ।

यादव लगायतका घुमुवाले एसपी पाण्डेको संरक्षणमा सीमाक्षेत्रदेखि विभिन्न तस्करहरुबाट असुली गर्दै बुझाउने गरेको गुनासो हेडक्वाटरमा पुगेपछि प्रहरी प्रधान कार्यालयले अनुगमन टोली खटाएको थियो ।

जिल्लाका प्रहरी हाकिमहरुकै मिलेमतोमा भन्सारछली बढेको र घुमुवा राखी घुस असुली गर्ने गरेका गुनासा ब्यापक आउन थालेपछि प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा अनुगमन टोली पठाएको थियो ।