काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवासहितको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मा भाग लिन स्कटल्यान्डतर्फ प्रस्थान गरेको छ । कतार एयरवेजको बिमानबाट नेपाली डेलिगेसन टोली पौने ११ बजे त्यसतर्फ लागेको हो । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक विदेश भ्रमणको सिलसिलामा बेलायत जान लागेका हुन् ।

देउवाको डेलिगेसनमा ६ जना सचिव छन् । जसमा परराष्ट्र सचिव भरतराज पौड्याल, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल, अर्थसचिव मधुकुमार मरासिनी, ऊर्जासचिव देवेन्द्र कार्की, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी छन् ।

भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर सुवेदी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की, प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट छन् ।