मधेशटप, कार्तिक १५ गते ।

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना गरेका छन् ।

पूर्वराष्ट्रपति डा. यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा जानु राष्ट्रकै बेइज्जत भएको बताए ।

‘न्यायका प्रतिष्ठित व्यक्ति, कानुनविद्सँग सल्लाह गरेर न्यायालयको समस्या समाधान गर्नु पर्दैन ?’, ‘बीपी विचार, नीति र व्यवहार’पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले सरकारलाई प्रश्न गरे, ‘कानुन मन्त्री दिलेन्द्र बडूले यो समस्या किन समाधान गर्न सक्दैनन् ?’

यादवले न्यायालय एकदमई  बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर झुकाएको पनि बताए।

उनले सारा न्यायाधीशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्न गरे।

‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छन् । बुद्धिजीविहरु एकातिर छन् । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छन् । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् म छोड्दिनँ । केही नभए पनि एक्लै बेन्चमा बस्छन् । तर कसको तागतमा ?’, उनले प्रश्न गरे, ‘तर पनि आजसम्म दलहरुले बोलेका छैनन् । सरकार त देशको प्रतिनिधि हो । प्रथम प्रतिनिधि हो देशको । सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ?’

उनले कानुन मन्त्री बडूमाथि पनि आक्रोश पोखे। ‘कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैनन् ? आज संसारसामु न्यायालयको अवस्था यस्तो छ। तर प्रधानमन्त्री बेलायत जानु भएको छ’, उनले भने, ‘आज बेलायतसामु, संसारसामु न्यायालयको यो अवस्था छ। यस्तो अवस्थामा हामी संसारसामु टाउको देखाउन सक्छौं ?’

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्।

संविधानमा नहुँदा पनि संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएको भन्दै आलोचना गरे।

पूर्व राष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भीर नभएकोमा चिन्ता जनाएका छन्। – नेपालखबर