मधेशटप ।

 

जनकपुरधाम । प्रदेश २ सरकारले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६मा पोखरीमा डुबेर मृत्यु हुने पीडित परिवारलाई राहत वितरण गरेको छ ।

सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सो राहत वितरण गरेको हो । मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत गराई प्रति मृतक परिवार एक लाखको दरले राहत सहयोग वितरण गरेको छ ।

बुधबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पीडित परिवारजनलाई एक ÷एक लाखको चेक प्रदान गरे । गत जेष्ठ २८ गते मुखियापट्टी मुसहरनिया ६ स्थित हुलास यादवको खेतमा खनिएको पोखरीमा डुबेर एकै दिन पाँच जना बालिकाको मृत्यु भएको थियो ।

पोखरीमा डुबेर स्थानीय पल्टु यादवको १२ वर्षीय छोरी लक्ष्मीनिया यादव ,जोगिन्द्र यादवको १० वर्षीया छोरी चन्द्र कुमारी यादव ,राजगिर पुर्वेको १३ वर्षीया छोरी मन्जु पुर्वे , जगन्नाथ ठाकुरको १२ वर्षीय नातिनी चाँदनी कुमारी ठाकुर र उत्तिम सहनीको १२ वर्षीय छोरी ललिता सहनीको मृत्यु भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेश सरकारले पीडित परिवारको पीडामा मलहम लगाउने काम मात्रै भएको बताएका छन ।

कुनै पनि व्यक्तिको मृत्युको क्षतिपूर्ति हुनै नसक्ने बताउँदै उनले भने–‘यो त पीडित परिवारको लागि सानो सहयोग मात्रै हो ।’