जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा छठ पर्वका दिन अर्घ राख्ने विषयलाई शुरु भएको हिन्दु मुस्लिम समुदायबिचको विवाद साम्य हुन नपाउँदै फेरी उग्र रुप लिएको छ । दुई समुदाय बिचको विवाद उग्ररुप लिएपछि अवस्था तनावपूर्ण बनेको छ ।

वडा नम्बर २० देवपुरा रुपैठा स्थित तेलिया पोखरीमा छठ पुजाका लागि घाट निर्माण गर्ने बिषयमा विवाद भएपछि छठ पूजाकै दिन केही समयका लागि झडप भएको थियो । यद्यपि प्रहरीले बिचबचाव गर्दा त्यो दिन विवाद साम्य भएको भएको थियो ।

सोही विषयलाई लिएर फेरी शनिबार मुस्लिम र हिन्दु समुदाय वीच विवाद झडपको श्रृृजना भयो । झडपको क्रममा दुई समुदायबिच पत्थरवाजी हुँदा ३ प्रहरी सहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एकजना नेपाल प्रहरी, २ जना सशस्त्र प्रहरी र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

एक घाइते प्रहरीको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेको प्रहरी उपरीक्षक रजौरेले बताए । उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जनभन्दा बढी राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति व्यवस्था कायम राख्न्का लागि सो क्षेत्रमा २४ घण्टाका लागि निषेधाज्ञा लगाएको छ । जिप्रका धनुषाले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि आईतबार दिउँसो २ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा लगाएको हो ।

पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म लागु हुने गरी निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

रुपैठामा किन हुन्छ वर्षेणी हिन्दु मुस्लिम विवाद ?
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०मा पर्ने देवपुरा रुपैठामा भएको हिन्दु मुृस्लिम बिचको विवाद कुनै नयाँ विषय होइन । यहाँ प्रत्येक वर्ष हिन्दु धर्माबलम्बीहरु दशैँ पर्वमा मूर्ती सेलाउने क्रममा होस वा इस्लाम धर्माबलम्बीहरुले ताजिया खेल्ने क्रममा प्रत्येक वर्ष त्यहाँ हिन्दु मुस्लिमबिच साम्प्रदायिक विवाद हुँदै आईरहेको छ । यस वर्ष दशैँमा त्यहाँ कुनै अप्रिय घटना नहुँदा स्थानीय खुशी थिए तर त्यो खुशी छठ पर्व आउँदासम्म समाप्त भयो ।

रुपैठामा हिन्दु धर्माबलम्बीहरु तेलिया पोखरीमा छठ पर्व प्रत्येक वर्ष मनाउँदै आईरहेका छन् । सोही पोखरीको डिलभन्दा केही पर मुस्लिम समुदायका व्यक्तिहरु समेत वसोवास गर्छन् । छठ पर्वका दिन घाट निर्माणकै क्रममा एकाएक दुई समुदायबिच वाकयुद्धबाट शुरु भएको विवाद झडपमा परिणत भएको एक स्थानीयले बताए । त्यो दिन झडपमा परेर ४ जना घाइते भएका थिए । त्यो दिन प्रहरीले जसोतसो स्थितिलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए ।

यद्यपि शनिबार आज केही हिन्दुवादी संगठनहरु प्रदर्शन गर्दै रुपैठामा पुगेपछि फेरी हिन्दु मुस्लिम समुदाय बिचको विवाद शुरु भएको हो ।