सप्तरी । विपन्न परिवारलाई फाइदा हुने गरी आज बुधवारदेखि बिजुलीमा नयाँ महसुल लागू भएको छ ।

विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णय अनुसार आजदेखि नयाँ महसुल कार्यान्वयनमा आएको हो ।

नयाँ महसुलअनुसार महिनाको २० युनिटसम्म बिजुली प्रयोग गर्ने घर परिवारले बिजुलीको पैसा तिर्नुपर्ने छैन, ३० रुपैयाँ इनर्जी शुल्क तिरेमात्रै पुग्नेछ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याएका अर्थ मन्त्री जनार्दन शर्माले बजेटमै २० युनिटसम्म उपभोग गर्ने उपभोक्ताबाट शुल्क नलिने उल्लेख गरेका छन् ।

सरकारले आजदेखि लागू गरेको महसुलअनुसार अब देशभरका १९ लाख ८६ हजार घरधुरीले मासिक ३० रुपैयाँमात्रै तिरे पुग्नेछ । यस्तै कृषि उद्यम र सिँचाइमा प्रयोग हुने विद्युतको सहुलियत महसुल पनि आजैदेखि कार्यान्वयनमा आएको छ । यस्तै, सिङ्गल र थ्री फेज लाइनबाट बिजुली उपभोग गर्ने उपभोक्ताले निःशुल्क रूपमा आफ्नो मिटरको क्षमता बढाउन पाउनेछन् भने सिङ्गल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ ।