नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ ।

गत भदौको अन्तिम सता हिन्द टर्मिनलको रेल पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएपछि प्रतिस्पर्धा शुरू भएको हो ।

भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् ।हिन्द टर्मिनलले सेवलाई निरन्तरता दिएको सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीले बताएको छ ।

प्रिस्टाइनका कार्यकारी निर्देशक बी मोहनले अहिलेसम्म हिन्द टर्मिनलले वीरगञ्ज सुक्खा बन्दरगाहमा सातओटा रेल र्याक भित्र्याइसकेको जानकारी दिए । ‘हिन्द टर्मिनलले ७ ¥याक कन्टेनर ढुवानी गरिसकेको छ । अन्य कम्पनी पनि सेवा दिने अन्तिम तयारीमा छन्,’ मोहनले भने ।

हिन्द टर्मिनलले अहिलेसम्म ६३० ओटा कन्टेनर वीरगञ्ज बन्दरगाहमा ल्याइसकेको छ । प्रिस्टाइन भ्यालीको मुख्य साझेदारका रूपमा रहेको भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूह पनि कन्टेनर ढुवानीको तयारीमा रहेको जनाइएको छ ।