काठमाडौँ । नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ ।

जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या सो संख्यामा पुग्ने देखिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसंख्या करिब ३ करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार जनगणनाबाट सोधिएका प्रश्नको पूर्ण विवरण आउन भने एक वर्ष लाग्नेछ । गणकले सोधिएका प्रश्नको तथ्यांक कम्प्युटरमा अपलोड गर्न ६ देखि ९ महिना लाग्ने र त्यसको तीन महिनामा पूर्ण विवरण आउने गरी विभागले काम अगाडि बढाएको छ । नेपालको कुल जनसंख्या, महिला र पुरुषको कुल संख्या भने दुईदेखि तीन महिनामा आइसक्ने छ ।

केही दिनभित्रमै गणकले भरेको फारामलाई जिल्ला र प्रदेश जनगणना कार्यालयमा ल्याउने र त्यहाँबाट फाराम केन्द्रीय तथ्यांक विभाग ल्याउने प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ । जनगणनाको तयारीदेखि सम्पन्न गर्नेसम्मका सबै काम गर्न पाँच वर्षको अवधिमा ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान विभागको छ ।