जनकपुरधाम । भौतिक पूर्वाधार तथा यतायातमन्त्री रेणु यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा आउने दाबी गरेकी छन् ।

जनकपुरधाम रेलवे स्टेसनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवलेयस्तो दावी गरेकी हुन् । कानुन, बजेट र प्राविधिक त्रुटिको अभावमा रेल सञ्चालनमा ढिलाइ भएको बताउँदै उनले अब अर्को महिनासम्म कानुन ल्याएर कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउने बताइन् ।

“रेल सञ्चालन सम्बन्धी कार्यविधि बनिसकेको छ । भारतीय केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटूजी सम्झौता अन्तर्गतको पहिलो किस्ता दिइसकिएको छ,” उनले भनिन्, “कर्मचारी, बजेट र भाडादर तोक्न बाँकी छ । छिट्टै प्रक्रिया अगाडि बढ्नेछ ।”

उनले रेलको दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्नेसमेत बताइन् । “भर्चुअल भएपनि दुवै देशको प्रधानमन्त्रीले अन्तरदेशीय रेलको उद्घाटन गर्नुहुन्छ,” उनले भनिन्, “सकेसम्म हामीले भौतिक रूपमा सहभागी भएर उद्घाटन गराउने तयारीमा छौँ ।”