मधेशटप समाचारदाता,

सञ्जीतकुमार मण्डल,

जलेश्वर, १ पुस । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका मेयरको मनोमानीले गुठी संस्थानको करोडौको नोक्सानी भएको छ ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले मटिहानीमा अवस्थित नेपालकै जेठो लक्ष्मीनारायण मठ अन्तर्गत स्थानीय स्तरमा रहेका गुठीका करोडौ मुल्यको जग्गाहरु मनोमानी गर्दै अतिक्रमण गरेका छन् ।

मेयर मण्डलले आफ्नो बलको प्रयोग गर्दै विकासको नाउँमा स्थानीय स्तरमा रहेका ऐतिहासिक एवं पौराणिक महत्वका जग्गाहरुमा संस्कृति, सभ्यता र परम्परा नै मेटिने तथा नासिने गरी जथाभावी संरचनाहरु निर्माण गरेका छन् ।

देशका जनताहरुले देशबाट तानाशाह हुँदै गएको भन्दै राजतन्त्रलाई फागेर प्रजातन्त्र, लोकतन्त्र र अहिले आफ्नो शासन, आफ्नो प्रशासन तथा आफ्नै गाउँ घरसम्म शासन प्राप्ती हुने लालचमा गणतन्त्र ल्याएको अवस्था छ । तर मटिहानी नगरपालिकामा लोकतन्त्र होईन, राजतन्त्र भन्दा पनि क्रुर शासन व्यवस्थाको शुभारम्भ भएको स्थानीयहरुको बुझाई रहेको छ ।

देशमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय गरी तीन तहको सरकार भएपछि अहिले स्थानीय सरकारहरु राजाभन्दा पनि बलियो भएर दमन, शोषण र मनोमानीलाई चरम सीमामा पु¥याएको उदाहरण मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डलमा हेर्न सकिन्छ ।

मटिहानी मठसँग राजधानी काठमाडौं सहित देशको विभिन्न शहर र स्थानमा १३०० विग्हा जग्गा रहेकोमा ७०० विग्हा जग्गा रैतानेमा परिणत भएको अवस्था छ भने बाँकी रहेका ६०० विग्हा जग्गा अतिक्रमणको चपेटामा परेका छन् ।

यसैमध्ये मटिहानी नगरपालिकाले पनि नगरभित्र विकासको नाउँमा जथाभावी रुपमा गुठी (मठ) को जग्गा अतिक्रमण गर्दै भौतिक संरचना निर्माका कामका गरेर मठ एवं गुठीको ईतिहास र परम्परालाई नाश गर्ने काम गर्दै आएका छन् ।

गुठीको जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा गुठीसँग सहमति लिनुपर्ने, जानकारी दिनुपर्ने र समन्वय गरेर जानुपर्ने कानूनी व्यवस्था छ । तर मेयर मण्डलले गुठी, मठ तथा त्यसका संरक्षकहरुको वेवास्ता गर्दै आफू नै सर्वोच्च सरकार भएको भन्दै मनोमानी गर्दै गुठीको करोडौ मुल्यको जग्गाहरु अतिक्रमण गर्दै नोक्सान गर्दैछन् ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले अहिले आफूले बोलेको कुरा कानून, आफूले गरेको काम संविधान र आफूले चालेको कदम सर्व स्वीकार्य हुनुपर्ने वातावरण मटिहानीमा बनाएका छन् ।

उनले विकासको नाउँमा मटिहानी मठको ठीक प्रवेशद्वारमै मठ परिसरभित्रै शौचालय बनाउन लागेका हुन् । जसले यस मठको सौन्दर्यमै कालो टिका लगाउने भएको छ । मठ मन्दिरमा दर्शनका लागि आउने साधु सन्त, महात्मा लगायतका व्यक्तिहरुले भगवानको दर्शन गर्नुअघि शौचालयकै दर्शन गर्ने देखिन्छ ।

त्यसको विरोध गर्न जाने मठका प्रमुख (महन्थ) लगायत सबैलाई मेयर मण्डलले हप्काउने, धाक धम्की दिने विकासका विरोधी भन्दै गाली समेत गर्ने गरेका छन् ।

उनको अगाडिमा स्थानीय जनताहरु जनता होईन, जन्तु हुन् र उनी विरुद्ध बोल्ने जोसुकैलाई पनि उनले अस्लिल गाली गलौज गर्ने र आफ्नै हातले कुटपिट समेत गर्न पछि हट्नु हुन् ।

स्थानीय तहमा विकासका लागि आएको करोडौ रकम खर्च गर्ने बाटो नपाएर उनले जथाभावी रुपमा गुठीको जग्गाको भौतिक संरचनाहरु बनाउँदै ऐतिहासिक एवं पौराणिक नगरी मटिहानीबाट ईतिहास मेटाउने प्रयास गरिरहेका छन् ।

मिथिला क्षेत्रको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमाको बेला परिक्रमाबासीको तेस्रो दिनको पराव (बास स्थान) का लागि पुस्तौपुस्तादेखि मटिहानी नगरपालिका– ७ स्थित परिक्रमा गाछीमा अवस्थित गुठीकै २५÷३० विग्हा खाली जग्गा रहँदै आएको र सोही जग्गामा लाखौको संख्यामा आउने परिक्रमा बासी विश्राम गर्ने परम्परा रहँदै आएकोमा मेयर मण्डलले अहिले कसैसँग कुनै ईजाजत वा सर सल्लाह नै नगरी सो स्थानमा स्टेडियम बनाएर सो जग्गा पनि अतिक्रमण गरेका छन् । घेराबेरा र पर्खाल लगाएर १० विग्हा बढी जग्गा हडपेका छन् । जसले अबको दिनमा परिक्रमाबासीलाई बस्न स्थानको कमी हुने छन् ।

उनले गुठीकै जग्गामा रहेको झुला घरको छेऊमा बिना ईजाजत अर्को विशाल दुर्गा मन्दिर पनि बनाएका छन् । जसले सदियौंदेखि चलिआएको रामसीता झुला महोत्सवको आकर्षणलाई पनि ओझेलमा पार्ने काम गरेका छन् ।

त्यसैगरी मेयर मण्डलले मटिहानी बजार (हटिया) नजिकै रहेको गुठीको बहुमुल्य जग्गामा गुठीसँग कुनै समन्वय नै नगरी जनताको लागि भनेर सार्वजनिक शौचालय बनाएको छ । जसबाट गुठीको करोडौ मुल्यको जग्गा बर्बाद भएको छ ।

यी माथि उल्लेखि केहि उदाहरण मात्रै हुन् । मेयर मण्डलले पैसा कमाउन र जनतालाई आकर्षित गर्न मटिहानीमा रहेको गुठीको दर्जन बढी स्थानमा जथाभावी योजनाहरु हालेर खानेपानी, धर्मशाला, मन्दिर, मस्जिद, अतिथिगृह, वडा कार्यालय, स्वास्थ्य कार्यालय, सडक जस्ता अनेकौ निर्माणका कामहरु गरेर गुठीको जग्गालाई नोक्सानी गरेका छन् ।

मेयर मण्डलले अहिले मटिहानीमा विकासको नाउँमा के गर्नु, कहाँ गर्नु ठाउँ नपाएर गुठीको अर्बौ मुल्यको जग्गा अतिक्रमण गरेर आफ्ना पार्टीका कार्यकर्ता, भाई भारदार र आसेपासेलाई अरोडौ रकम भ्रष्टाचार गर्न÷गराउनमा व्यस्त देखिएका छन् ।

मेयर मण्डलले गुठीको जग्गाहरु जथाभावी रुपमा अतिक्रमण गर्दै दुरुपयोग गर्दै आएको सम्बन्धमा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसँग सोधपुछ गर्दा उहाँले गुठीको जग्गा आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने तथा त्यसको रोकथामको जिम्मेवारी आफ्नो नरहेको बताउनुभयो । उहाँले त्यसका लागि गुठीले नै आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै गुठी संस्थान कार्यालय जलेश्वरका निमित्त कार्यालय प्रमुख मिना भट्टराईले आफूहरु कार्यालयबाट पटक पटक कामकाज रोक्न भनी नगरपालिका र मेयर सहित जिल्ला प्रशासन कार्यालयमा पनि पत्राचार गरिसकेको र महोत्तरी जिल्ला अदालतमा मुद्दा समेत हालिसकेको बताउनुभयो । उहाँले मेयर मण्डलले विभिन्न स्थानमा विभिन्न योजनाहरु निर्माण गरिसकेकोले भिन्दाभिन्दै मुद्दा लगाउने तयारी समेत भइरहेको बताउनुभयो ।

साथै उहाँले ‘आफूहरु कर्मचारी मान्छे पत्रबाट समस्या समाधानको लागि प्रयास गर्ने हो । बल प्रयो गर्न सक्ने होईन ।’ भनी थप्नुभयो ।

अहिले नेपाल सरकारको मर्यादा क्रममा मेयर जिल्लाका सिडिओ (प्रमुख जिल्ला अधिकारी) भन्दा पनि माथि रहेकोले मेयर मण्डलले मटिहानीमा गरिरहेको मनोमानी सम्बन्धमा जिल्लाका सिडिओले पनि केहि भन्दा उनले सिडिओ समेतलाई नटेरेको कुरा बाहिरिएको छ ।

साथै मठका महन्थ र गुठी कर्मचारीहरु पनि मेयरका डरले उनलाई केहि भन्न नसकेको अवस्था रहेको छ । त्यस्तै स्थानीयहरुले मेयर मण्डललाई केहि भनसुन गरेमा उनले अस्लिल गाली गलौज र कुटपिट समेत गर्ने भएकोले उनी विरुद्ध कसैले केहि गर्न र केहि बोल्न सकेका छैनन् ।

मटिहानीका मेयर मण्डलले मटिहानीमा गुठीको जग्गामा गरिरहेको मनोमानी रोक्न तथा गुठीको ऐतिहासिक एवं धार्मिक सम्पदाको संरक्षणका लागि सम्बन्धित निकायको ध्यानार्षणका लागि स्थानीय सरोकारवालाहरुले आग्रह गरेका छन् ।

मटिहानी धार्मिक एवं ऐतिहासिक महत्व बोकेको स्थान हो । तेत्रा युगमा भगवान रामचन्द्रको माता जानकी (सीता) सँग विवाह हुँदा मटिहानीमै अवस्थित लक्ष्मी सागरबाट माटो खनेर यज्ञवेदी बनाइएको धर्मग्रन्थहरुमा उल्लेख छ । सोही ग्रन्थहरुका अनुसार मटिहानीमा ईतिहासकालिन सम्पदाहरु पनि छन् । जुन चाँही गुठी संस्थानको अधिन एवं संरक्षणमा छन् ।

मटिहानीमा अवस्थित लक्ष्मीनारायण मठ पनि ईतिहासकालिन नै छन् । जहाँका मान महन्थले गुठीको सम्पूर्ण सम्पदाको रेखदेख, संरक्षण सम्बद्र्धन गर्नुका साथै यसको अतिक्रमण वा विनास गर्न खोज्नेमाथि आवश्यक कारबाहीको लागि पहल गर्ने गर्दछन् । तर दुर्भाग्य मटिहानी मठका मान महन्थ जगन्नाथ दास बैष्णवले आफ्नो हातमा केही नरहेको, आफूसँग कुनै अधिकार नरहेको र आफू केवल भगवानको सेवा गरेर बसिरहेको बताउनुभयो । उहाँले आफू अहिलेको अवस्थामा कतै केहि गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो ।

यसरी एउटा धार्मिक, ऐतिहासिक एवं पौराणिक महत्व बोकेको स्थानमा रहेको गुठीको बहुमुल्य सम्पदाहरु कुनै मेयरद्वारा अतिक्रमण गरेर सस्तो लोकप्रियता र जनतालाई भोटकै लागि आफ्नो पक्षमा पार्न खोज्ने मटिहानीका मेयर हरिप्रसाद मण्डलमाथि नेपाल सरकार तथा गुठी संस्थानले आवश्यक कारबाही गर्नुपर्ने माँग स्थानीय नेकपा माओवादी केन्द्रका नेता राजकिशोर मण्डलले माँग गर्नुभयो ।

त्यस्तै मेयरकै पार्टी लोकतान्त्रिक समाजवादी पार्टीका स्थानीय एवं अगुवा नेता सुनिलकुमार कर्णले पनि विकासको नाउँमा मेयर मण्डलद्वारा जथाभावी रुपमा गुठीका ऐतिहासिक सम्पदाहरुको अतिक्रमण गर्नु निन्दनिय कार्य रहेको भन्नुहुँदै मेयरले गरेको मनोमानीलाई रोक्नका लागि केन्द्रिय गुठीले तुरुन्त एक्सन लिनुपर्ने धारणा राख्नुभयो ।

स्थानीय नागरिक समाज अमितकुमार साहले ‘नगरपालिकाले विकास गर्नु राम्रो हो, विकास हुनुपर्छ, विकास सबैलाई चाहिन्छ बताउनुभयो ।’ ‘तर एउटा विकासले अर्को विनास हुनु राम्रो होईन । जुन मेयर मण्डलले गुठीको ऐतिहासिक सम्पदामाथि प्रहार गर्दै गरिरहनुभएको छ ।’ उहाँले थप्नुभयो ।

त्यस्तै समाजसेवी राजेशकुमार कर्णले पनि मेयर मण्डलले मटिहानीमा रहेको वर्षौ पूरानो गुठीका ऐतिहासिक जग्गाहरुमा धमाधम जनता लोभ्याउने र भोट बढाउने नियतले भौतिक संरचनाहरु बनाएर विकासको नाउँमा गुठीको सम्पदाको विनास गरिरहेको आरोप लगाउनुभयो ।

उनीहरु जस्तै त्यहाँका सर्व साधारणहरु पनि मेयरले जथाभावी रुपमा गुठीको जग्गा अतिक्रमण गरेर विभिन्न संरचनाहरु निर्माण गरिरहेकोमा दुःख व्यक्त गरिरहेका छन् । तर उनीहरुले अभाव, दवाव र प्रभावका कारण मेयरको प्रतिकार गर्न सकिरहेका छैनन् ।

यसैबीच गुठीको जग्गामा नगरपालिकाद्वारा निर्माण गरिएको संरचनाहरुको सम्बन्धमा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शर्मासँग सोधपुछ गर्दा उहाँले सबै निर्माण कार्य उपभोक्ता समिति मार्फत भएको बताउनुभयो । उहाँले निर्माण गर्ने बेलामा गुठीसँग सहमति र समन्वय गरेको होला भन्ने सम्भावना बताउनुभयो । साथै उहाँले ‘गुठीलाई आपत्ति भएको भए गुठीले निर्माण कार्य भइरहेकै बेलामा रोक्नुप¥यो’ थप्नुभयो । ‘त्यतिबेला नरोकेर अहिले गुठी संस्थान वा मान महन्थले सहमति दिएको छैन वा समन्वय गरेको छैन भनेर के मतलब’ उहाँले दोहो¥याउनुभयो ।

यस सन्दर्भमा नगरपालिकाको हरेक योजना तथा निर्माण कार्यको अनुगमन र निरीक्षण गर्ने अधिकार प्राप्त जिम्मेवार व्यक्ति अर्थात उपमेयर शिवोदेवी साहसँग सोधपुछ गर्दा उहाँले वास्तवमा नगरपालिकाले गुठीकै जग्गामा मन्दिर, मस्जिद, धर्मशाला, स्वास्थ्यचौकी, अतिथिगृह, वडा कार्यालय लगायतका दर्जनौ योजनाहरु बनाइएको स्वीकार गर्नुभयो । तर उहाँले पनि यसमा गुठी कार्यालय  वा सम्बन्धित निकायले  समयमै रोक्नुपर्ने  बताउनुभयो । अहिले दर्जनौ योजनाहरु निर्माण भइसकेको अवस्थामा गुठी वा अन्य निकायले यसको कुरा उठाउनु ठीन नरहेको बताउनुभयो ।

साथै उहाँले गुठीको जग्गा यदि सरकारको हो भने नगरपालिकाले निर्माण गरेको संरचना पनि त सरकारकै रहेको भन्नुहुँदै यसमा आपत्ति जनाउनु राम्रो नरहेको थप्नुभयो ।