जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी  राजधानी जनकपुरधामस्थित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाकै छेउबाट मोटरसाईकल चोरी भएको छ । सोमबार दिउँसो जिल्ला अदातलको अगाडी र जिल्ला प्रहरीको केही मिटरको दुरीमा रहेको सडक छेउबाट नयाँ मोटरसाईकल चोरी भएको हो । सोमबार अदालतमा कामको शिलशिलामा जाँदा पार्क गरिएको प्र २–०२–००४ प ५८८० नम्बरको निलो कलरको अपाचे मोटरसाईकल चोरी भएको हो ।

 

१६० सिसिको सो मोटरसाईकल धनुषाको शहिदनगर नगरपालिका वडा नम्ब १ बस्ने नथुनी साहको रहेको थियो । उनी करिब ६ महिना अगाडी मात्र सो मोटरसाईकल किनेका थिए ।

 

गत असार २० गते किनेको नयाँ अपाचे मोटरसाईकल प्रहरीको नाकमुनीबाट चोरी हुँदा प्रहरी प्रशासनको दुरस्तताउपर प्रश्न खडा भएको छ ।

 

जिल्ला अदालत धनुषाको अगाडी जहाँ हरेक समय प्रहरी तैनाथ हुन्छन र सर्वसाधारण सेवाग्राहीको भीड पनि त्यतिकै रहँदा त्यहाँबाट मोटरसाईकल चोरी हुनु सुरक्षा कमजोरी देखिएको छ ।

 

जनकपुरधामको विभिन्न स्थानमा औसतमा दैनिक रुपमा एक मोटरसाईकल चोरी हुने गरेको तथ्याँक छ । जनकपुरमा दिनहुँ मोटरसाईकल चोरीको घटना आएपनि अब प्रहरीमा उजुरी दिन पनि सर्वसाधारणहरुले छाडन थालेको छ ।