मधेशटप, 

जनकपुरधाम : प्रदेश २ नेपाली कांग्रेसको मतगणनामा विवाद भएको छ। अबेर साँझ पदाधिकारीको मतगणनामा महामन्त्री पदमा विवाद भएको हो। विवाद अझै साम्य नभएपछि गणनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने नतिजासमेत रोकिएको छ।

विवाद साम्य नभएसम्म मतपरिणाम सार्वजनिक नहुने देखिएको छ। तथापि नतिजा सार्वजनिक नभए पनि अग्रता गणना गर्दा उपसभापतिमा देउवा प्यानलका वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। यता महामन्त्रीमा देउवा पक्षकै उपेन्द्रकुमार यादव विजयी भएका छन्। महामन्त्रीमा दुईजना उम्मेदवार विजय हुुनुपर्नेमा निधि पक्षका नरेशकुमार यादव र देउवा पक्षका वृहस्पतीकृष्ण श्रेष्ठको मतबारे विवाद चुलिएको हो।

यता सहमहामन्त्री खुलामा देउवा पक्षकै जयनारायणप्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन्। त्यस्तै, सहमहामन्त्री महिलामा बिन्दुकुमारी यादव विजयी भएकी छिन्। मतगणनास्थलमा हुँदै गरेको विवाद निष्कर्षमा पुगेपछि सबैको मतपरिणामसहित विजयी उम्मेदवारहरूको घोषणा हुने सम्भावना छ।