मधेशटप समाचारदाता,

संजित कुमार मंडल,

महोत्तरी, १५ पुस । महोत्तरी जिल्लाको विभिन्न स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मीहरुले पैसा लिएर खोप कार्ड बनाउँदै गरेको रहस्य बाहिर आएको छ ।

देशभरै जोनसन एण्ड जोनसन खोपको अभाव रहेको र यसअघि आएको जोनसन एण्ड जोनसन खोपको म्याद गत कात्तिक महिनामै सकिसकेको अवस्था रहेकोमा अहिले पनि स्वास्थ्यकर्मीहरुले सेवाग्राहीहरुसँग मोटो रकम लिएर जोनसन एण्ड जोनसन खोप लिएको कार्ड बनाएर दिइरहेको रहस्योद्घाटन भएको छ ।

महोत्तरीका विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले अहिले एउटा कार्ड बनाए वापत ५ देखि १५ हजार र कसै कसैले २० हजार रुपैया सम्म पनि लिने गरेको पाइएको छ ।

तराई मधेशमा चरम बेरोजगारी रहेको अवस्थामा वैदेशिक रोजगारीमा जाने व्यक्ति बढी यसै क्षेत्रको रहने गरेका छन् र अहिले खाडी मुलुक लगायत अन्य मुलुकमा पनि वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई जोनसन एण्ड जोनसन खोप अनिवार्य गरेको अवस्थामा महोत्तरीका स्वास्थ्यकर्मीहरु मनपरी ढंगले पैसा असुलेर त्यस्ता खोपै नलगाइएकनै पनि कार्ड बनाइदिने गरेको पाइएको छ ।

स्वास्थ्यकर्मीहरुले त्यस्ता व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा फाटफुट रुपमा खोप लगाउँछन् वा खोप कार्ड बनाउँछन् भने बढीलाई स्वास्थ्य संस्था बाहिर गोप्य स्थानमा नै बोलाएर खोप लगाउने तथा कार्ड बनाउने काम गर्दै आएको आरोप जलेश्वर न.पा.२ का सामाजिक अगुवा शिवचन्द्र चौधरीले लगाउनुभयो ।

सोही क्रममा स्वास्थ्यचौकी महोत्तरीका काम गर्दै आएका दुई स्वास्थ्यकर्मीलाई दुई साता अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका टोलीले धनुषाको जनकपुर स्थित बस बिसौनी नजिकै प्रती व्यक्ति २० हजारका दरले ३ जनालाई खोप बेच्दै गरेको अवस्था पक्राऊ गरेको थियो ।

जिल्लामा भइरहेको खोप र खोपकार्डको दुरुपायोग सम्बन्धमा स्वास्थ्य कार्यालय महोत्तरीका खोप सुपरभाईजर लक्ष्मेश्वर झासँग सोधपुछ गर्दा उहाँले खोप दुरुपयोग र कार्ड दुरुपयोगको कुरा केहि साथीहरुबाट भइरहेको स्वीकार गर्नुहुँदै त्यस्ता काम निक्कै निन्दनीय र जोखिमपूणर् रहेको भन्नुहुँदै त्यस्ता कार्यमा लागेको जोकोहीलाई पनि स्वास्थ्य कार्यालयले जानकारी पाएमा आवश्यक कारबाही गर्ने बताउनुभयो ।

त्यसैगरी निमित्त कार्यालय प्रमुख भोला यादवले कुनै पनि साथी दुई/चार पैसाको लोभमा त्यस्तो काम गरिरहनुभएको छ, त्यो वास्तवमै गलत र जोखिमपूणर् काम हो । साथै त्यस्तो गरी खोप नलिईकनै कार्ड बनाउने सेवाग्राही पनि जोखिम मोल लिइरहेकोले त्यस्तो कृयाकलाप नगर्न/नगराउन सबैलाई आग्रह गर्नुभयो ।

जिल्लामा खोप तथा खोपकार्ड दुरुपयोग सम्बन्धी भइरहेको कृयाकलाप सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले तुरुन्त पहल गर्न तथा त्यस्त कार्यमा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने माँग सर्व साधारण जिल्लाबासीको छ ।