मधेशटप, जनकपुरधाम । प्रदेश  नम्बर  २  स्थायी राजधानी र नामका लागि विशेष समितिमा सोमवार भएको छलफलमा राजधानीका लागि दुईवटा प्रस्ताव पेश हुने सहमति भएको छ ।

प्रदेश सभामा रहेका पाँचवटा दलले छुट्टा छुट्टै वरिपरिको भूभाग सहित जनकपुरधामलाई राजधानी प्रस्ताव गरेका छन् । दुई जना फरक दलका सभासदहरुले छुट्टा छुट्टै ढंगले वीरगञ्जलाई राजधानीका लागि प्रस्ताव गरेका हुन् ।

बैठकमा पाँचवटा दलले प्रस्तुत गरेका प्रस्तावको अन्तरवस्तु एउटै भएकाले सबै दलको तर्फबाट जनकपुरधामलाई केन्द्र मानेर वरिपरिको भूभागलाई राजधानी तोक्नेमा सहमति जुटेको समितिका संयोजक समेत रहेका प्रदेश सभामुख सरोज कुमार यादवले जनाए ।

‘जनकपुरधामलाई राजधानी बनाउन दर्ता भएका पाँचवटा प्रस्तावलाई एउटैगरी छलफल गराइनेमा सहमति जुटेको छ’ सभामुख यादवले भने, वीरगञ्जलाई राजधानी प्रस्ताव गरेका दुई जना सभासद बीच सहमति भने जुट्न सकेको छैन् ।

प्रदेशको राजधानी तोक्न बसेको बैठकमा भएको सहमति अनुसार दक्षिणमा नेपालको सीमाना धनुषा र महोत्तरी, पश्चिममा बृहत् परिक्रमाको भू– भाग, उत्तरमा ढल्केवर र पूर्वमा लोकमार्ग कमला नदीलाई सीमा तोकिएको छ ।

नेपाली कांग्रेसले जनकपुरधामलाई मात्र राजधानीको रुपमा प्रस्ताव गरेको थियो । अन्य दलहरुले दर्ता गराएको प्रस्तावमा सहमति कायम भएपछि कांग्रेसले पनि सहमति जनाएको हो ।