जनकपुरधाम :  प्रहरीले जनकपुरधामबाट नेपाल रेल्वे कम्पनीको नियुक्त पत्र दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौलीका ३२ वर्षीय सागरकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

 

आइतबार राति नै जनकपुरधाम उपमहानगरपालिका ८ स्थित सीता प्यालेस होटल अगाडिबाट लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै ठगी गरेको आरोपमा चौधरीलाई पक्राउ गरिएको उनले बताए ।

 

चौधरीले आफू लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजात स्थानीयलाई देखाइ ठगी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

खोजतलास गर्दा चौधरीको ज्याकेटको गोजीमा लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ती पेपर, शपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लिमिटेडको राजेश कापरको नामको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत विरगन्ज लेखिएको रबर स्टाम्प छापसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

उनले लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजात तयार गरी स्थानीयलाई ठगी गर्न लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको नक्कली नियुक्ति पत्र बाँडेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

 

चौधरीविरुद्ध धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।