सर्लाही :  सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) थानेश्वर गौतम र प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंलाई कोरोना संक्रमण भएको छ ।

प्रमुख जिल्ला अधिकारी गौतमले सामान्य रुघाखोकी लागेपछि जिल्ला अस्पतालमा स्वाब संकलन गराएका थिए । त्यस्तै, प्रहरी उपरीक्षक प्रसाईंले पनि आफू प्रायः प्रमुख जिल्ला अधिकारीसँगै रहने भएकाले उनले पनि सँगै स्वाब दिएका थिए । उनीहरु दुवैको रिपोर्ट पोजिटिभ आएको छ ।

प्रमुख जिल्ला अधिकारी गौतमले आफूलाई सामान्य खोकीबाहेक अन्य लक्षण नदेखिएको र अहिले सरकारी निवासमै एकान्तबासमा बसेको बताए । यस्तै, प्रहरी उपरीक्षक प्रसाईंको स्वास्थ्य अवस्था पनि सामान्य नै छ । उनी पनि जिल्ला प्रहरी कार्यालयमा एकान्तबासमा बसिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी गौतम र प्रहरी उपरीक्षक प्रसाईं दिनहुँ विभिन्न बैठक, छलफलमा सहभागी हुँदै आइरहेका थिए ।

उनीहरु आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयमै बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक र शनिबार बरहथवामा इलाका प्रहरी कार्यालय बरहथवाको निरीक्षणमा सहभागी भएका थिए ।यसैगरी, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।