जनकपुरधाम,पुस २७ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बाट एक युवकलाई प्रहरीले पोने १० किलो चाँदी र लाखौं रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।

९ केजी ७६७ ग्राम चाँदीका गहना र १ लाख १२ हजार ६ सय रुपैया नगदसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले शंका लागेर चेकजाँच गर्दा प्रदेश नं. १–०२–०४५ प. ८२७ नम्बरको पल्सर मोटरसाइकलमा चढेका खातीको साथबाट चाँदी र नगद रुपैया बरामद भएको बताए । उनका अनुसार बरामद चाँदी ७ लाख ८३ हजार २९८ रुपैयाँ बराबरको रहेको छ ।

प्रहरीका अनुसार चाँदीका ब्रास्लेट नगदार १८४ थान, वालिया २५ थान, लौकेट नगदार ८५ थान, लेडिज औठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद भएको छ ।