जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले भारतीय सीमाक्षेत्र सहित सार्वजनिक स्थानमा एन्टिजेन बुथ स्थापना गरी नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय धनुषाले स्थानीय तहसँग समन्वय गरी सिमाना लगायत सार्वजनिक स्थानहरूमा निस्शुल्क एन्टिजेन टेष्ट बुथ स्थापना गर्ने र नियमित परीक्षण गर्नेर गराउने निर्णय गरेको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी(सिडियो) सुरेन्द्र पौडेलले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे आदेश जारी गरेका छन् ।

कोभिड – १९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासनले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न आदेश दिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य मापदण्ड पाल्न गर्न आग्रह गर्दै २५ जनाभन्दा बढी मानिसको उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न तथा सार्वजनिक स्थानहरूमा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरेको छ ।

 

यस्तै कोभिड–१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको निस्शुल्क एन्टिजेन तथा पीसीआर परीक्षणका लागि स्थानीय तह र जिल्ला अस्पतालमा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरिएको छ ।