मधेशटप डेस्क, माघ २ गते।

 

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन सोमबार प्रदेश सभामा मतदान हुने भएको छ।

आइतबारको प्रदेश सभा बैठकमा प्रदेशको राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदन पेश भएको छ। विशेष समितिको प्रतिवेदन गर्दै समितिका सदस्य परमेश्वर साहले दलहरूबीच व्यापक छलफल गर्दा पनि निश्कर्षमा पुग्न नसकेको बताए। साहले भने, “सबैले आ-आफनो प्रस्तावमा अडिग रहेको कारणले कुनै पनि प्रस्तावमा सहमति हुन सकेन।”

प्रदेश राजधानीको विषयमा ७ वटा र प्रदेशको नामकरणका विषयमा ६ वटा प्रस्ताव दर्ता भएका थिए। जसमा दलहरूबीच छलफल भएर नामकरणको विषयमा ४  र राजधानीको विषयमा ३ वटा प्रस्ताव बनेका छन्।

समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि सोमबार बिहान पनि छलफल हुने भएको छ। छलफल सकिए लगत्तै प्रस्तावमाथि मदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुख सरोजकुमार यादव नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनअनुसार, अब नामका विषयमा चार वटा र राजधानीका विषयमा तीन वटा प्रस्तावमाथि मतदान हुनेछ।

प्रदेश २ को नाम मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश छन्। सांसदहरू शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह मधेश प्रदेश नाम प्रस्ताव गरेका हुन्। यसमा सांसदहरू बबिता कुमारी, रानीकुमारी तिवारी, सावित्रीदेवी साह, जगतप्रसाद यादव र दिलिप साह समर्थक रहेका छन्।

त्यस्तै, जानकी प्रदेशको प्रस्तावकमा प्रमोद कुमार यादव छन् भने समर्थकमा वेची लुगेली, डिलिप्रसाद उप्रेती र नागेन्द्र राय यादव छन। मिथिला भोजपुराको प्रस्तावकमा शिवचन्द्र चौधरी छन भने समर्थकमा नागेन्द्रप्रसाद सिन्हा, प्रमिलादेवी दास र मन्जुकुमारी यादव छन्।

यस्तै, मध्य मधेश प्रदेशको प्रस्तावकमा राजेश्वरप्रसाद शा छन्। यस प्रस्तावमा शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र अशियादेवी थरुनीले समर्थन गरेका छन्।

प्रदेश १ को राजधानीका लागि गरिएका प्रस्तावमा जनकपुर, पोखरीया र सखुवा प्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिका सहित वीरगञ्ज र वीरगञ्ज महानगरपालिका छन्। परमेश्वर साह, रविन्द्र बैठा धोबी, उपेन्द्रप्रसाद कुशवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले राजधानी जनकपुर राख्न प्रस्ताव गरेका हुन्।

त्यस्तै, सिंगासन सा कलवारले पोखरीया, सखुवा प्रसौनी, पर्सागढी सहित वीरगञ्जलाई राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन्। तेस्रो प्रस्ताव दर्ता गराएका राजेश्वर प्रसाद  शाहले वीरगञ्जलाई मात्र राजधानी बनाउन माग गरेका छन्।

अहिले प्रदेश सभामा १०४ सदस्य छन्। जसमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का ३९, नेपाली कांग्रेसका १९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा (एकीकृत समाजवादी)का १३, नेकपा (माओवादी केन्द्र) का ८, नेकपा (एमाले) का ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन्। नाम र राजधानीको प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ।