बारा : बारामा एक ९ वर्षीया बालिकाको बलात्कारपछि निर्ममताप२र्वक हत्या गरेको आरोपमा प्रहरीले दम्पत्तीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले आइतबार बालिका रुपमालाकुमारी साहको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा सन्तोष साह कानु र उनकी श्रीमती शान्तिदेवीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

बारा प्रहरीका अनुसार मृतक बालिका २५ पुसदेखि हराइरहेकी थिइन । उनी बाख्रा चराउन गएको र फर्केर नआएको निवेदन प्रहरीमा परेको थियो । प्रहरीले खोजतलासगर्दा उनको शव २७ पुसमा बारा आदर्श कोतवाल गाउँपालिका–७ कोतवाली टोल जमुनी खोलामा फेला परेको थियो ।

प्रहरीका डीएसपी राजेश थापाका अनुसार घटनास्थलको अवलोकन गर्दा नाबालिकाको घाँटी कसी टाउँको समेतमा प्रहार गरी हत्या गरेर फालेको अवस्थामा भेटिएको थियो । उनका अनुसार यसपछि कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अनुसन्धान सुरु भएको थियो ।

अनुसन्धानकाक्रममा मृतकसँगै बाख्रा चराई रहेका व्यक्तिहरूले मृतक खाने पानी लिन मृतक लाश फेला परेको स्थान नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फार्म तर्फ गएको र त्यसपछि नआएको बताए । अनुसन्धानमा घटनाका दिन कुखुरा फार्ममा संतोष साह कानु बाहेक अन्य व्यक्ति नरहेको पत्ता लागेपछि प्रहरीले उनीसँग सोधपुछ थालेको थियो ।

सोधपुछ गर्दा सन्तोषले बालिका पानी लिन आएको र फर्कनेक्रममा आफुले करणी गरि हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त अपराधमा प्रतिवादी शान्ति देवीले अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेको जनाएको छ । प्रहरीले दुबैलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिन को म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।