काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारमा सहभागी हुने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

नेता सिंह उपप्रधानसहित गृहमन्त्री बन्ने चर्चा भइरहेका बेला उनले आफू सरकारमा सहभागी हुने कुरा सत्य नभएको बताएका हुन् ।

शनिबार डा. मिता सिंहद्वारा लिखित गणेशमान सिंहको संघर्ष विषयक पुस्तक विमोचनपछि आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले भने, ‘प्रधानमन्त्रीबाट मलाई सरकारमा सहभागी गराउन कुनै प्रस्ताव आएको छैन । यो सबै हल्ला मात्रै हो ।’

उनले महाधिवशेनमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्नुको पछाडि कुनै पदीय बार्गेनिङ नभएको पनि स्पष्ट पारे ।

‘पार्टीलाई विधिसम्मत लैजानुपर्छ भन्ने हेतुले मैले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको हुँ,’ उनले भने, ‘यसमा कुनै पदीय बार्गेनिङ गरेको छैन ।’ उनले सविधानको भावना र मर्मानुसार सबै तहका निर्वाचन हुनुपर्ने बताए ।

शनिबार संविधानको व्यवस्थाअनुसार नै स्थानीय तहलगायत अरू तहका निर्वाचन हुनुपर्ने बताए । उनले निर्वाचनलाई पर धकेलेर स्थानीय तहलाई पदाधिकारीविहीन बनाउन नहुने धारणा पनि राखे ।

उनले महाधिवेशनपछिको परिणामलाई लिएर पार्टीभित्रका नेताहरूलाई लखेट्ने काम बन्द हुनुपर्ने बताए ।

उनले आगामी दिनमा पार्टीलाई सशक्त बनाउनका लागि पार्टी महाधिवेशनको निर्णयलाई स्वीकार गर्दै एकताबद्ध रूपमा अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।